बङ्गलादेशमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन दूतावासको अनुरोध

काठमाडौं, साउन २१, २०८१ः

बङ्गलादेशमा आन्दोलन पुनः चर्किएपछि ढाकास्थित नेपाली राजदूतवासले त्यहाँ रहेका नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ। सोमबार दूतावासले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहेका सबै नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको हो। दूतावासका अनुसार बंगलादेशमा सरकारले अनिश्चितकालीन कर्फ्युसमेत लगाएको छ।

‘बङलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेशसमेत जारी भएको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,’ दूतावासको सूचनामा भनिएको छ।

बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीसहित सम्पूर्ण नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जानकारी दिएको छ।

उनीहरूसँग दूतावास निरन्तर सम्पर्कमा रहेको पनि सूचनामा उल्लेख छ। सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र नेपाल फर्कन र दूतावाससँग समन्वय गर्न पनि सूचनामा अनुरोध गरिएको छ।

‘नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा सम्पूर्ण नेपालीहरूले यस दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

दूतावासमा सम्पर्क गर्नका लागि निम्न नम्बर दिइएको छ:
योजना बम्जन, द्वितीय सचिव: +8801880691013
रिया क्षेत्री: +8801745407958

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!