बनेपा,काभ्रेपलाञ्चोक, साउन २९, २०८१ः
बनेपामा कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । ए.बि. प्यालेट फिड प्रा.लि. र जयमाता चण्डेश्वरी सप्लायर्सले संयुक्त रुपमा आयोजना गरेको उक्त तालिम सफलतापुर्बक सम्पन्न भएको हो ।
ए.बि. प्यालेट फिडका प्रबन्घ निर्देशक बलराम संजेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
बिभिन्न जिल्लाका करिब ६० जना सहभागि किसान तथा व्यवसायिहरुलाई कुखुरापालनका बिभिन्न बिधामा तालिम दिईएको थियो। पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङले कुखुराको खोर व्यवस्थापन तथा चल्ला राख्नु भन्दा पहिलेको पुर्ब तयारी र जैविक सुरक्षाको महत्व बारेमा प्रशिक्षण दिएका थिए भने ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेलले बोइलर चल्लाको ब्रिडिङ व्यवस्थापन र यसको महत्व बारेमा प्रशिक्षण दिएका थिए। त्यसै गरी केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारीले कुखरामा लाग्ने रोगहरु तथा रोग व्यवस्थापन, आहार व्यवस्थापन तथा पानीको सरसफाइ र खोपको महत्वको बारेमा प्रशिक्षण दिएका थिए ।

उक्त तालिम कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहाल तथा बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्यको बिशेष उपस्थिति रहेको थियो। त्यसैगरी पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ, ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेल, केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारी, वरिष्ठ पत्रकार मधुसुदन गुरागाई, पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाट, आयोजक जयमाता चण्डेश्वरी सप्लायर्सका सचिन तिमिल्सिना र प्रशिक्षण संयोजक दिपेश लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
उक्त तालिममा ए.बि. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक तथा कार्यक्रमका सभापति बलराम संजेलले स्वागत मन्तव्य राख्नु हुदै ए .बि. प्यालेट फिडले गरेका बिबिध गतिबिधि माथि प्रकाश पार्नु भएको थियो। डा. अनुसुया भटराईले संचालन गरेको उक्त तालिममा सहभागीहरुले तालिम निकै उपयोगी मुलक रहेको प्रतिक्रिया ब्यक्त गरे।