खजुरा, साउन ३० , २०८१ः
बाँकेको राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको छ ।
कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्रराज सापकोटाले गत आर्थिक वर्षमा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको बताउनुभयो ।
डा. सापकोटाका अनुसार गत आवमा नेपालगन्ज मुर्रा राँगाबाट ७१ हजार ६५० डोज, भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज, गड्डी राँगाबाट एक हजार ७४ डोज गरी ७५ हजार ३६७ डोज राँगाको वीर्य उत्पादन भएको छ । ्त्यसैगरी जर्सी साँढेबाट पाँच हजार १९ डोज र होलिष्टेन साँढेबाट २२ हजार ९२५ डोज गरी २७ हजार ९४४ डोज साँढेको वीर्य उत्पादन गरिएको छ । त्यसैगरी बोयर बोकाबाट १६ हजार ९३४ डोज बिर्य उत्पादन गरिएको छ।
गत आवमा कार्यालयबाट ७० हजार ७० डोज वीर्य वितरण गरिएको छ । जसमध्ये, नेपालगन्ज मुर्राको २४ हजार १७२ डोज, जर्सी साँढेको २९ हजार ४१० डोज, होलिष्टेन साँढेको १२ हजार ९४९ डोज, विदेसी जर्सी साँढेको ५१५ डोज, होलिष्टेन साँढेको ५८ डोज र बोयर बोकाको दुई हजार ९६६ गरी जम्मा ७० हजार ७० डोज वीर्य वितरण गरिएको हो । भारतीय मुर्रा राँगाको वीर्य भने अझै वितरण गरिएको छैन ।
गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका तीन वटा उन्नत जातका मुर्रा राँगा रहेका छन् । गत मङ्गसिर ६ गते नेपालगन्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएका थिए । तीनमध्ये दुईवटा राँगाबाट वीर्य सङ्कलन गरिए पनि परीक्षणकै क्रममा रहे
को हुँदा अझ वितरण नगरिएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिनुभयो ।
जैसीका अनुसार गत वर्ष ल्याइएका तीनवटा भारतीय राँगामध्ये दुईवटा राँगाबाट उत्पादन गरिएको दुई हजार ६४३ डोज वीर्य परीक्षणकै क्रममा रहेको छ । परीक्षणको सकारात्मक नतिजा आएपछि तत्काल भारतीय राँगाको वीर्य वितरण गरिनेछ ।
कार्यालयमा हाल दुईवटा गड्डी, तीनवटा भारतीय र १० वटा नेपाली गरी १५ वटा मुर्रा राँगो, साँढे १२ वटा, बोका १८ वटा र बाख्रा ६ वटा गरी जम्मा ५१ वटा पशुचौपाया रहेका छन् ।