हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि, अझै दुई वटा ताल फुट्न सक्ने

काठमाडौ, भाद्र १, २०८१ः

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ।

रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर बाढी आएको पाइएको हो।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार गाउँभन्दा माथि रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको छ। अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ। एउटा हिमताल भने सुरक्षित देखिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्।

अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएको भन्दै प्रजिअ पाण्डेले थामे नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताइन्।

सोलुखुम्बुबाट निर्वाचित मन्त्री राई शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेललाई लिएर निरीक्षणका लागि खुम्बु क्षेत्र पुगेका थिए।

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीका कारण थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ भने खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!