अन्तरनगर पुरुष खो खो प्रतियोगिता भक्तपुरमा हुदै, प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार पुरस्कार

भक्तपुर, फागुन ४ ,२०७९ः

भक्तपुर नगरपालिकाको आयोजनामा यहि फागुन ५ गतेदेखि ९ गतेसम्म हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे आज पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपा्लिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई खेलकुद प्रतियोगिता मार्फत सक्रिय बनाउने उद्देश्य अनुरुप नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सञ्चारमाध्यमहरुबाट सकारात्मक प्रचारप्रसार हुने विश्वास व्यक्त गर्दै उहाँले भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य, सरसफाईबारे भइरहेको सकारात्मक प्रचारलाई देशव्यापी मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि प्रचार भइरहेको बताउनुभयो ।

प्रतियोगितामा बढीभन्दा बढी सहभागिता गराउन नगरपालिकाले व्यापक प्रचारप्रसारलाई जोड दिँदै आएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरमा आन्तरिक पर्यटक बढाउने प्रयास जारी रहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्दै भक्तपुर नपाले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गर्नुका साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!