परराष्ट्रमन्त्री राणाद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट

काठमाडौं,भाद्र ३, २०८१ः

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्।

भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन्।भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो।

उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना र मिनिस्टर काउन्सिलर द्रौपदा सापकोटा थिइन्।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसहित, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए।

परराष्ट्र स्रोतका अनुसार ओलीले यस पटक प्रधानमन्त्री भएपछि आफू पहिला भारत जाने भन्दा पनि भारतबाट प्रधानमन्त्री मोदीलाई पहिलो नेपालमा स्वागत गर्ने र त्यसपछि मात्र नयाँ दिल्लीको भ्रमण गर्ने योजना बताएका छन्।

‘त्यही योजनाअनुसार परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा मोदीलाई हस्तान्तरण गरेकी हुन्,’ परराष्ट्रका एक अधिकारीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!