तीजमा भड्किलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

काठमाडौं, भाद्र १३, २०८१ः

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व भड्किलो ढङ्गले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे/गराए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को ख्याल गर्न भनेको छ।

‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरूको आयोजना गरे र गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ,’ सूचनामा छ।

विगतको तुलनामा हालका वर्षहरूमा तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रमहरू बढ्दै गएको प्रशासनको ठहर छ।

‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ। तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध छ,’ सूचनामा भनिएको छ।

पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएको भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!