भरतपुर, भाद्र १८, २०८१ः
शिब बराल
चितवन उद्योग संघद्वारा आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनबाट सरुवा हुन लाग्नु भएका प्रमुख कर अधिकृतलाई सम्मान तथा सरुवा भई आउनु भएका प्रमुख कर अधिकृतसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख कर अधिकृत निरन भट्टराईलाई बिदाई र सरुवा भई चितवन आउनु भएका आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख कर अधिकृत पुण्यविक्रम खड्कासँग उद्योगीहरुको परिचयात्मक कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रमका विशिष्ट व्यक्तित्व प्रमुख कर अधिकृत निरन भट्टराईले चितवन उद्योग संघसँगको सहकार्य निकै स्मरणीय रहेको र चितवनका उद्योगीहरुसँग आफ्नो भावनात्मक नाता जोडिएको बताउनुभयो । उहाँले आफू जहाँ रहँदा पनि आफ्नो र संस्थाको तर्फबाट चितवनको औद्योगिक प्रबद्र्धन अभियानमा सदैव सहकार्य हुने बताउनुभयो । भर्खरै मात्र चितवन आउनु भएका आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख कर अधिकृत पुण्यविक्रम खड्काले चितवन उद्योग संघले आफूलाई उद्योगीहरुसँग परिचय हुने मौका दिएकोमा खुशी व्यक्त गर्नुभयो ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत मन्तव्यसँगै संघका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु भेषराज दुवाडी, हरि प्रसाद सुवेदी, संघका उपाध्यक्षहरु मदन घिमिरे, गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य ओमकार कँडेल, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, महिला उद्यमी मञ्चका उपाध्यक्ष सरिता पौडेल खनाल, युवा निर्देशक अनिष पौडेल, पूर्व कार्यसमिति सदस्य भोजराज खनाल लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।