काठमाडौं, १० असोज २०८१ः
नेपालकै पहिलो जि.पि. फार्म “कब नेपाल प्रा. लि.” बाट उत्पादित कब ५०० जातका उच्च गुणस्तरिय ब्रोईलर प्यारेन्ट चल्लाको साविक मूल्य रू ६९५/- बाट घटी यहि असोज १३ गतेबाट लागू हुनेगरि मंसिर मसान्तसम्मको लागि रू ४९५/- कायम गरिएको कब नेपालले जनाएको छ| नेपालीहरूको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वको शुभ अवसरमा यो खुशीको खबरले हालको कठिन अवस्थाबाट गुज्रिरहेका ह्याचरी व्यवसायी र समस्तगत पोल्ट्री व्यवसायलाई धेरै राहत पुर्याउने अपेक्षा गरिएको छ|
कब नेपालका प्रबन्ध निर्देशक तथा नेपाल ह्याचरी उद्योग संघका प्रथम उपाध्यक्ष डा. बलराम किसी भन्छन्, “पछिल्लो केहि समयदेखि निरन्तर रूपमा ओरालो लागिरहेको यो व्यवसायमा हाल २-३ वर्षको अन्तरालमा डेढ सय भन्दा बढी ह्याचरीहरू आफ्ना लागत मुल्य नपाएर बन्द भइसकेका छन् भने अझै थप अरु सञ्चालन हुन नसक्ने स्थितिमा पुगिसकेका छन्| अझै यो भन्दा जटिल अवस्था हाम्रा कृषक साथिहरू तथा उहाँहरूलाई व्यवसाय गर्न सहजिकरण गर्ने सप्लायर्सहरुको छ|

हामी यो हुनुमा विभिन्न कारणहरू भएको पाउँदछौ, जस्तै: आयातित, महंगो र परनिर्भर हुनैपर्ने कच्चा पदार्थले बढ्न गएको दानाको मुल्य, भारतबाट अवैध रूपमा चोरी-पैठारी भई नेपालमा डम्पिङग हुने पोल्ट्री तथा पोल्ट्रीजन्य वस्तुहरु, सो अवैध वस्तुले भित्र्याउने विभिन्न घातक रोगका सँक्रमणहरू र त्यसले वार्षिक रूपमा यो व्यवसायलाई पुर्याउने क्षति, आर्थिक संकुचनका साथसाथै त्यसले मासुको खपत तथा मागमा ल्याएको गिरावट। अझै यो पोल्दो आगोमा घिउ थप्न सरकारले विदेशी मुलुकबाट सिधै र सहजै नेपालमा मासु आयात गर्न मिल्ने गरि हालै जताएको गतिविधि र सक्रियता|”
डा. किसी भन्छन् कि यो समय भनेको व्यवसायीहरु बिचमा विभिन्न कारक तत्वले मतभेद सृजना गर्नु भन्दापनि यो व्यवसायको हकहितका लागि एकजुट र मजबुत भई ऐक्यबद्धता जनाउनु पर्दछ किनकि व्यवसायलाई संरक्षण र ्पुनरउ्त्थान गर्न एउटा संगठित आवाजको अत्यन्त आवश्यकता पर्दछ र यसरी मात्रै सबैले तस्करलाई खबरदार र सरकारलाई आफ्नो दायित्वबारे झकझक्याउन सक्नेछ|
पछिल्लो समयमा अन्य अरू जातको तुलनामा पनि कब ५०० को ब्रोईलर, प्यारेन्ट लगायत ग्र्याण्ड प्यारेन्ट मै पनि निरन्तर रूपमा थप हुदै गएको सुधारले विश्वभरि नै यो जात अझै प्रख्यात र व्यवसायीको पहिलो रोजाइमा पर्न सफल हुदै गएको छ| यसले गर्दा हुन आएको उत्पादकता वृद्धिले लाभान्वित भएको ह्याचरी तथा किसानहरू आफैले महसुस गरेको व्यवसायिहरु बताउँदछन्| नेपालीहरुको महान् चाडपर्वको शुभ अवसरमा व्यवसायीहरूको लागत खर्च कम गर्न मदत पुर्याई सो कम लागत र बढ्दो उत्पादकताको लाभले धेरै हदसम्म किसानलाई पनि राहत मिल्ने आपेक्षा गरिएको छ|
देशका विभिन्न ह्याचरी व्यवसायीहरू बताउँछन् कि सीमित समयसम्मको लागि मात्रै प्रदान गरिएको सहुलियत दर भएतापनि यो कदम स्वागतयोग्य छ र बल्ल कब नेपाल जस्तो प्रतिस्थित संस्थाले आफूले निभाउनै पर्ने समस्तगत पोल्ट्री व्यवसायको अभिभावक, संरक्षक तथा अग्रगामीको भूमिका निभाएको छ र पक्कै पनि यसबाट आम व्यवसायीहरूको मनोबल वृद्धि हुने देखिन्छ|
सबै कच्चा पदार्थ तथा उपभोग गर्ने वस्तुहरू महंगीको चरम बिन्दुमा पुगेको बेला र विदेशबाट अधिकतम शुल्क तिरेर ल्याउनुपर्ने महंगो आयातित ब्रोइलर प्यारेन्टका चल्ला भन्दा निकै सहुलियत दरमा नेपालमै उत्पादित उत्तिकै गुणस्तरिय प्यारेण्ट चल्ला निकै सहुलियत दरमा नेपाली बजारमा उपलब्ध भएको खबरले कब नेपालले आफ्ना ग्राहकलाई दिइएको प्राथमिकता, उनका हितका लागि देखाइएको प्रतिबध्दता र व्यवसाय प्रतिको उत्तरदायित्व झल्किएको छ| विगत केहि समयदेखि नेपाल ब्रोइलर प्यारेन्ट चल्लाको माग आपूर्तिमा आत्मनिर्भर भइसकेको छ। तथ्याङ्क अनुसार, गत पाँच वर्ष अघिभन्दा अहिले ब्रोइलर प्यारेन्ट चल्लाको आयातमा ८० % भन्दा बढिले गिरावट आएको पाइन्छ| यसले राष्ट्रको डलर सञ्चितिमा पनि निकै राहत पुगेको र वार्षिक अरबौँ रुपैयाँ देशको ढुकुटीबाट बाहिरिन जोगिएको आकलन गरिएको छ|
देशकै केहि सिमित आत्मनिर्भर व्यवसाय मध्य पर्ने र ५ लाखभन्दा बढि रोजगार सृजना गर्ने पोल्ट्री व्यवसाय लगायत अर्थतन्त्रलाई नै एउटा उद्योगले यत्रो टेवा पुर्याउन सक्छ भने उद्योगी, व्यवसायी र सर्वहारा किसानका हितका लागि पुरै सरकार नै रणनीतिक रूपले लागि परे देशले उन्नतितर्फ कति फड्को मार्दोहोला! थप सम्भावना बोकेको र फस्टाउदै गइरहेको पोल्ट्री व्यवसायलाई संरक्षण गरेर अझ परिपक्क बनाउन मदत पुर्याउनुको साटो नीतिगत अवरोधका साथै तयारी मासु नै सहजै ‘खुला बजार’ को नकाबमा सहर्ष स्विकारी नेपालभित्र निर्यात गर्नदिई यो व्यवसायमा अहिलेसम्म भएको खरबौँको लगानि र लाखौँ किसानको जीविकोपार्जन मास्न खोज्नु कतिको औचित्यपुर्ण कुरा हो भन्ने प्रश्न व्यवसायीहरूले पछिल्लो समयमा आक्रमक रूपले उठाउँदै आएकाछन्|
हुनपनि एकातर्फ आफ्नो उद्योग कलकारखाना बचाउन आयातित विद्युतीय सवारी साधन लगायत अन्य विदेशी उपकरण र सामाग्रीहरुमा उच्चतम भन्सार शुल्क तथा प्रतिबन्ध नै लगाउने संयुक्त राज्य अमेरिकाको ‘संरक्षणवादी नीति’ र अर्को तर्फ आफूलाई पायक पर्ने बेला झल्काउने ‘खुला बजार’को नारा एकआपस बिच द्वन्द्वात्मक हुनुका साथसाथै विश्व पनि यो अमेरिकी रणनीतिबारे अवगत नै छ| आशा छ कि नवनियुक्तित प्रधानमन्त्री, कृषि मन्त्री, परराष्ट्र मन्त्री र उनका मन्त्रालयले सबै सरोकारवालाहरूसंगको रणनीतिक दृष्टिकोणले हुने विस्तृत र तार्किक छलफल पछिको निचोडले राष्ट्रको दीर्घकालीन हित हुने कूटनीति अपनाउने छ|
