काठमाडौँ, ६ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालमा राजनीतिक स्थितरताको लागि बहुदलीय व्यवस्थाको अन्त्य गरी दुई दलीय व्यवस्थामा जानु पर्ने अपरिहार्यता बनेको बताउनुभएको छ ।
जेसिआई नेपालले आज आयोजना गरेको मुलुकको सुरक्षा, आर्थिक विकास र समृद्धिमा राजनीतिक नेतृत्व विषयक कार्यक्रममा बोल्दै नेता बस्नेतले बहुदलीय व्यवस्थाले मुलुकमा राजनीतिक अस्थिरता बढेको बताउनुभयो । सरकार सञ्चालन गर्न पाँच सात दल आवश्यक पर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले पाँच/सात दलीय गठबन्धनको सरकार बनेको दुई महिना नपुग्दै राजनीतिक स्वार्थ पुरा गर्न सरकार ढाल्ने खेलमात्र हुन थालेको भन्दै दुई दलीय व्यवस्था भए मात्र राजनीतिक स्थिरतासँगै मुलुकको विकास र समृद्धिले तिव्रता पाउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बहुदलीय व्यवस्थाका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेर गयो । सरकार बनाउन पनि पाँच सात दल आवश्यकता पर्ने जनमत प्राप्त भएको छ । पाँच/सात दल मिलेर बनेको सरकार दुई महिना नपुग्दै राजनीतिक स्वार्थ पुरा गर्न सरकार ढाल्ने खेल शुरु हुने परिस्थित बनेको छ । जसले गर्दा देश र जनताको पक्षमा नभई आफ्नो स्वार्थको लागि मात्र प्रयोगमा ल्याउन बहुदलीय व्यवस्थालाई प्रयोग गरियो । त्यसैले मुलुकमा राजनीतिक स्थितरता र दिगो विकास र समृद्धिको लागि अब नेपालमा बहुदलीय व्यवस्था हैन, दुई दलीय व्यवस्थामा जानुपर्छ । एमाले र कांग्रेसले संविधान नै संशोधन गर्ने हिम्मत गर्नुपर्छ । केपी ओलीको ४० महिने सरकारको पालामा जनपक्षिय काम भएको तर शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा पार्टी फुटाउने र आफुले सत्ता चलाउने घृणित खेल मात्र खेले । त्यसैले बहुदलीय व्यवस्थाको विकल्प खोजी दुई दलीय व्यवस्थामा जानुपर्छ ।’
नेपाल जस्तो विकासन्मुख राष्ट्रमा संघीयताको विषयमा समेत सोच्नुपर्ने समय आएको उल्लेख गर्दै उहाँले जनताको बिचमा संघीयताको पक्षमा वा विपक्षमा जनमत संग्रह गर्ने हो भने संघीयताको विपक्षमा अत्याधिक जनमता आउने बताउनुभयो । संघीय व्यवस्थालाई समेत समय सापेक्ष बनाउन राजनीतिक दलहरु लाग्नुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय तह र संघीय सरकारको पुलको रुपमा काम गर्ने माध्यमको रुपमा प्रदेश बनाउन सकिने विकल्प प्रस्तुत गर्नुभयो । ‘संघीयताको पक्ष वा विपक्षमा जनमत संग्रह गर्नु भने जनताले अत्याधिक मत विपक्षमा दिनेछन्’, उहाँले भन्नुभयो, ‘त्यसैले जनतालाई मन नपरेको संघीयतालाई जनपक्षिय बनाउन प्रदेश सरकारलाई स्थानीय तह र संघीय सरकारको बिचमा काम गर्ने पुलको रुपमा विकास गरेर जानुपर्छ ।’
संघीयता विरोधी र संघीयताको पक्षधर नै मिलेर सरकार चलाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले कांग्रेसले एमाले र एमालेले कांग्रेसलाई सहकार्य गर्न तयार नभएकाले ३२ सीट ल्याएर तेस्रो पार्टी बनेको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाएको बताउनुभयो । मुलुकको बलियो राष्ट्र शक्ति निर्माण गर्न दुई दलीय व्यवस्थाको साथमा दुई पटकभन्दा बढी सांसद, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपति हुन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । त्यसो भए मात्र समृद्ध नेपाल सुखी नेपालीको अभियानले सार्थकता पाउने उल्लेख गर्दै उहाँले शसक्त राष्ट्र शक्ति भएको राजनीतिक दल बनाउनुपर्नेमा जोड दिनुभयो । आर्थिक र सामाजिक रुपान्तरण अनिवार्य आवश्यकता रहेको उल्लेख गर्दै पद र प्रतिष्ठाको लागि त्यागको भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो ।