लाइसेन्सको विवरण नागरिक एपमा थपियोः ट्राफिक प्रहरीले ‘डिजिटल लाइसेन्स’ जाँच गर्ने

काठमाडौं, ११ असोज २०८१ः

नागरिक एपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण थपिएको छ।

नागरिक एप अपडेट गर्दा वा डाउनलोड गर्दा लाइसेन्ससँगै क्यूआर पनि देखिने भएको छ। त्यसबाहेक ट्राफिक नियम उल्लङ्घन गरेको विवरण समेत सवारी चालक अनुमतिपत्रको सेक्सन भित्र देखिने भएको छ।

यातायात व्यवस्था विभागलाई लाइसेन्स छाप्न जटिलता भइरहेका बेला अब अनलाइनबाटै ‘डिजिटल लाइसेन्स’लाई ट्राफिक प्रहरीले अनुमति दिने गरी प्रक्रिया अघि बढेको छ। नागरिक एपमा लाइसेन्ससँगै देखिने क्यूआरलाई ट्राफिक प्रहरीले आफूसँग भएको एपमार्फत स्क्यान गरेर पूर्ण विवरण प्राप्त गर्नसक्ने भएको हो।

प्रहरीले सहजै लाइसेन्स जाँच गर्न पाउने र नियम उल्लङ्घन गरेको विवरण लगायत जानकारी हेर्न सक्नेछ। यो सञ्चालनमा आएपछि ट्राफिक नियम उल्लङ्घन गरेकै ठाउँबाट अनलाइनमार्फत जरिवाना तिर्न सकिने व्यवस्था समेत नागरिक एपमार्फत उपलब्ध हुने गरी काम भइरहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले अनलाइनबाटै लाइसेन्स जाँच गर्ने व्यवस्थाको अहिले परीक्षण भइरहेको बताए।

‘अहिले यसको परीक्षण भइरहेको छ। चाँडै नै औपचारिक रूपमा यो घोषणा भएर लाग्नुहुन्छ, त्यसपछि अनलाइनबाटै जरिवाना तिर्न सकिने सुविधामा काम हुन्छ,’ डीआईजी बोहराले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!