कान्ति लोकपथ आजबाट सञ्चालनमाः हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुल्ला

मकवानपुर, असोज २२, २०८१ः

मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ। यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन्।

असोज १२ को बाढीले बागमती पुलको आधा भाग बगाएको थियो। ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो।

द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन्।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको जानकारी दिए। बागमती गाउँपालिकाका स्थानीय प्रकाश लामाकाअनुसार त्यहाँनेर सडक साँघुरो र एकतर्फी भएकाले हलुका सवारी मात्रै सञ्चालन गरिएको छ।

बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो। हेटौंडा र काठमाडौंलाई जोड्ने कान्तिलोकपथ महत्वपूर्ण मार्ग हो।

हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौं र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीनवटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए।

कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो। हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यैदेखि सञ्चालनमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!