अस्पताल भरि डेँगुका बिरामीः भुइँमा राखेर उपचार गरिँदै

तनहुँ, २७ असोज २०८१ः

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेँगुका बिरामी बढेका छन्। बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ। अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ ।

पन्ध्र शय्या क्षमताको अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। पर्याप्त शय्या अभावमा उपचारमा कठिनाइ भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।

अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए। शय्याको अभावले डायलासिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ। यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ।

व्यास–१,२, ३, ४ र ५ मा डेँगुका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा २८१ र असोजमा हालसम्म २९७ जनामा डेँगुको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए।

दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रूपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!