व्यापारीले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको एमाले भित्रै विरोध

काठमाडौं, २८ असोज २०८१ः

कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा पार्टी कार्यालय बनाउने जग्गा व्यापारीबाट सहयोग लिएको भन्दै सत्तारुढ दल नेकपा एमाले भित्र विरोध सुरु भएको छ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको १० रोपनीभन्दा बढी जग्गामा पार्टी कार्यालय बनाउन गत शुक्रबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

त्यसको ३ दिनपछि नेतृ बिन्दा पाण्डेले सामाजिक सञ्जालमार्फत राजनीतिक दलले कार्यालय बनाउन अमुक व्यापारीको सहयोग लिनु गलत भएको बताएकी हुन्। यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनको ठम्याइ छ।

देशभरका कार्यकर्ताबाट सहयोग उठाएर भवन निर्माण गर्ने चर्चा चलाए पनि व्यवसायी गुरुङले नै निर्माण गरिदिने एमालेका केही नेताहरूले नै बताएका छन्।

पार्टीको निर्णायक तहमा छलफल र निर्णय बिनै पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिने पार्टी नेतृत्वको निर्णय दीर्घकालमा आत्मघाती सावित हुने भन्दै पाण्डेले सच्याउन माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!