डायलासिस गर्नुपर्ने बिरामीलाई अस्पताल पुग्न यातायात निःशुल्कः मोतिया बिन्दुको शल्यक्रिया समेत निःशुल्क

नवलपरासी पश्चिम, ६ कार्तिक २०८१ः

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले डायलासिस गर्ने बिरामीहरूका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ । मृगौलामा समस्या भई नियमित डायलासिस गर्नु पर्ने बिरामीको यातायात बापतको खर्च नगरपालिकाले बेहोर्ने भएको हो ।

नगरपालिकाले चालु आर्थिक बर्ष ०८१र८२ का लागि उक्त कार्यक्रम आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ । उक्त कार्यक्रमका लागि नगरपालिकाले बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसँग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो ।

गौतम बुद्ध अस्पतालले बिरामीहरूको आउजाउका लागि अस्पतालकै बस सञ्चालन गरेको र बर्दघाट बाट सेवा लिने बिरामीहरूको दोहोरो बस भाडा नगरपालिकाले बेहोर्ने गरि रु ५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

नगरपालिकाले नगरवासीका लागि मोतिया बिन्दुको शल्यक्रिया समेत निःशुल्क गरेको छ । सदरमुकाम परासीमा रहेको बिनोत निता कँडेल आँखा अस्पताल सँग नगरपालिकाले ५ लाख रकम को सम्झौता गरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि १ सय २६ जना नगरवासीले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा लिएका थिए ।

बर्दघाट नगरपालिका–१४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा डायलासिस उपकरण राख्ने प्रयास भइरहेको र कार्यपालिकाले निर्णय गरि मन्त्रालयमा फाइल अघि बढाउने तयारी भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनअघि सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उक्त अस्पतालको निरीक्षण गरि कार्यपालिकाको निर्णय सहित मन्त्रालयमा फाइल पठाउन अनुरोध गर्दै त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!