मध्यपुर थिमि, ६ कार्तिक २०८१:
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिका वडा नं ६ मा अबस्थित ऐतिहासिक महत्व बोकेको स्वँगा पुखु पुनःनिर्माण कार्य सुनिश्चित भएको छ। आज स्थानिय श्याम कृष्ण चक्रधरको अध्यक्षतामा उपभोक्ता समिति गठन भए पछि पुनः निर्माण कार्य सुनिश्चित देखिएको हो।
आज मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय श्रेष्ठ, वडा न ६ का अध्यक्ष ज्ञानदास प्रजापति लगायतको उपस्थितिमा उपभोक्ता समिति गठन गरिएको थियो।

उक्त स्थानमा लामो समय देखि पुर्बबत वडा कार्यालय भवन बनाउने या भवन बन्नु भन्दा अगाडिको स्वरुपमा पोखरी निर्माण गर्ने भन्ने बिषयमा बिबाद रहेको थियो। सोहि बिबादका कारण उक्त स्थानमा कुन संरचना बनाउने भन्ने बारेमा जनप्रतिनिधिहरु अन्यौलमा रहेका थिए।
उपभोक्ता समिति गठन पछि को समारोहलाई संक्षिप्त सम्बोघन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले तत्कालिन आवश्यकताको आधारमा पोखरी माथि भवन बनाईएको भएता पनि हालको आबश्यकता भवन नभएको र भवन अन्यत्र पनि बनाउन सकिने भएकोले सो स्थानलाई पोखरीकै रुपमा बिकास गरिने बताउनु भयो।
सोहि सभालाई संबोघन गर्दै उपप्रमुख बिजय श्रेष्ठले सो स्थानमा पोखरी निर्माणले सो क्षेत्रको आर्थिक अबस्था मजबुत हुने र यसले पर्यटकलाई आकर्षित गर्ने बताए।