काठमाडौंमा माओवादीको खबरदारी सभा आज

काठमाडौं, १० कार्तिक २०८१ः

नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गरिएको जनाएको छ।

त्यस्तै सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थाहरू, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरम राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी गरिने माओवादीको भनाइ छ।

माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ।

कांग्रेस, एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट बाहिरिएको माओवादीले पहिलोपटक सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १०० दिनमा प्रतिपक्ष दलहरूले ध्यानाकर्षण गराएका थिए।

भृकुटीमण्डपमा आयोजना हुने सभाअघि काठमाडौं मलबाट जुलुस निकालिने माओवादीले जनाएको छ। ११ बजेपछि त्यहाँबाट सुरु हुने जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन्। प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण रुपमा सम्पन्न गरिने माओवादीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!