नेपाल र बंगलादेश बीचको फाइनल खेलः एन्फाले लगायो टिकट बिक्रीमा रोक

काठमाडौं, १२ कार्तिक २०८१ः

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण गर्न रोक लगाएको छ।

आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो।

‘कात्तिक १४ गते बुधबार साँझ ६:३० बजेबाट दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना जारी गरिएको छ,’ एन्फाले सोमबार एक सूचनामार्फत भनेको छ।

एन्फाले टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सोधपुछ भइरहेको जनाएको छ।

‘हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ,’ एन्फाले भनेको छ।

एन्फाको आयोजनामा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप सञ्चालन भइरहेको छ। कात्तिक १ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक १४ गते सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!