तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि हुन्छ: कार्यकारी निर्देशक कुलमान घिसिङ

काठमाडौँ , १५ कार्तिक २०८१ः

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युत् पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताउनुभएको हो । उहाँले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताउनु भयो । उहाँले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुख्य गरेर यो वर्ष वर्षाको कारण आएको बाढी पहिरोको कारणले जलविद्युत क्षेत्रमा ठुलो क्षति पुगेको छ । प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ । तामाकोसी ४६५ मेगावाट अहिले पनि आउट छ । प्रशारण लाइन बगाएको हुनाले काबेली कोरिडोरको करिब २ सय मेगावाटको आयोजनाहरू आउट छन् । करिब ७ सय मेगावाटका जलविद्युत प्रणाली भन्दा बाहिर छन् । एक महिना भन्दा बढी भयो उत्पादन भएको छैन । त्यसबाट राजश्व सङ्कलनमा ठुलो घाटा भएको छ । मर्मतको लागि प्राधिकरणले ठुलो रकम खर्च गर्नुपर्ने अवस्था छ । यति हुँदा पनि हामीलाई पुग्ने विद्युत् उत्पादन छ । करिब २ हजार एक सय मेगावाटको उत्पादन अहिले छ । तर त्यो घटेर १९ सय मेगावाटमा झरेको छ । दैनिक रूपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ । अहिले पनि हामीले निर्यात गरिरहेका छौँ । यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो । १२ सय मेगावाट विद्युत् निर्यात हुने अवस्थामा पुग्दा ठुलो बाढी पहिरो गयो । तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ । तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन । बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु ।’

घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए । २०७३ सालको तिहारमा लोडसेडिङ बिना झिलिमिली बत्ती बाल्ने वातावरण बनाएका थिए । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!