पाँच दिन प्रयास गर्दा पनि प्रधानमन्त्री ओलीले पाँच मिनेट समय दिएन: कार्यवाहक प्रवक्ता झा

काठमाडौं, २ मंसिर २०८१ः

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच दिन प्रयास गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच मिनेट समय नदिएको बताएको छ। सभापति रवि लामिछानेको रिहाइको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गर्न आइतबार पार्टी कार्यालय चःमतीमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीले पाँच मिनेट समय पनि नदिएको र उनको सचिवालयले आज, भोलि भन्दै टारेको बताए।

‘केही राजनीतिक बुँदाहरू राखेर प्रधानमन्त्रीज्यूलाई भेटेर नै हामी बुझाउन चाहन्थ्यौँ। यो देशको चौथो राजनीतिक दलले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक प्रक्रियाअन्तर्गत गएर बुझाउने कोसिस गर्‍यौँ। लगभग पाँच दिन प्रयास गर्‍यौँ। कुनै कार्यक्रममा गएर घण्टौँ भाषण गर्ने उहाँले ज्ञापन पत्र लिएर आउँछन् क्यारे, फोटो खिचेर पठाउँला भनेर खिसिट्युरी पनि गर्नुभयो। विभिन्न ठाउँमा गएर बोल्नु पनि भयो। हामीले पाँच मिनेट समय दिनुस्, हामी यो वाचन गरेर तपाईंलाई सुनाउँछौँ भन्दै गर्दा पाँच दिनदेखि अनुरोध गर्दै गर्दा उहाँले बेवास्ता गर्नुभयो। उहाँको सचिवालयले रेस्पोन्स गर्दैगर्दा कुनै बेला समय दिन्छौँ भन्नुभयो। आजै दिन्छौँ, भोलि दिन्छौं भन्नुभयो। तर हामी आउँछौँ भन्ने कुराको खिसिट्युरी ठाउँठाउँमा गएर गर्नुभयो। तर हामीलाई समयचाहिँ दिनुभएन,’ झाले भने।

संसदीय समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४२९ मा सहकारीबाट गोरखा मिडियामा पैसा लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागजप्रमाण नभेटिएको तथ्य हुँदाहुँदै सभापति लामिछानेमाथि एकपछि अर्को निराधार आरोप लगाएर हिरासतमा राखेको रास्वपाले बताएको छ। यसबाट राजनीतिक प्रतिशोध पुष्टि हुने र लोकतन्त्रमा प्रतिशोधले स्थान पाउन नहुने पनि रास्वपाले बताएको छ।

तसर्थ सभापति लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न उसले माग गरेको छ। भविष्यमा कानूनी प्रावधानको दुरुपयोग नहोस् भन्नका लागि विद्यमान फौजदारी कानून र संरचनागत सुधार र परिमार्जनको खाँचो औंल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!