कीर्तिपुर, २ मंसिर २०८१ः
नेकपा (माओवादी केन्द्र)बाट मंसिर १६ गते हुने उपनिर्वाचनको लागि नगरप्रमुख पदमा प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को लागि सरलगोपाल महर्जन र ४ को लागि इन्जिनियर नारायण विष्टले मनोनयन दर्ता गर्नुभएको छ ।
कीर्तिपुर पाँगादोबाटोबाट नेवारी सांस्कृतिक बाजागासहित माओवादी र जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरुको जुलुस देवढोकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेको हो ।
कीर्तिपुर नगरपालिकाको निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राजेन्द्र श्रेष्ठ र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी बीच कीर्तिपुर नगर र काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा चुनावी तालमेल भएको छ ।
मनोनयन दर्ता भएपछि नगरप्रमुखको उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै भ्रष्टाचारमुक्त कीर्तिपुर नगरमा सुशासनसहित समृद्धि ल्याउने बताउनुभयो ।
उहाँले कीर्तिपुर नगरपालिकालाई फोहोरमुक्त बनाउनको लागि निशुल्क फोहर संकलन गर्ने, खानेपानी र विद्युतको न्युनतम शुल्क मिनाह गर्दै स्ववासी र बेनिस्सा जग्गामा रहेका नगरबासीलाई लालपूर्जा वितरणको लागि प्रक्रिया बढाउने बताउनुभयो ।