युवा पलायनको परिणाम ० कृष्ण प्रजापति

चिनियाँ कम्युनिष्ट पार्टीका नेता अध्यक्ष माओ त्सेतुंगले भन्नु भएको थियो, युवा भनेका बिहान १०/११ बजेको घाम जस्तै हुन् । संसार युवाको हो । संसार युवाको साथै सबैको हो । त्यसो भएपनि आखिर संसार भनेको युवाहरुकै हो । यो भनाईले युवा शक्ति देशको लागि कतिको उपयोगी तथा महत्वपूर्ण शक्ति हो भन्ने कुरा देखाउँछ । तर हामी कहाँ दैनिक जसो युवा शक्ति विदेश पलायन हुन पुगेका छन् । पहिला बीस लाख, चालिस लाख बाहिर गएको ठाउँमा अहिले आएर असी लाखको हाराहारीमा युवा शक्ति बाहिर रहेका छन् । यस हिसावले हेर्ने हो भने तीन करोड जनसंख्या भएको नेपालमा पूर्ण जनसंख्याको एक तिहाई भाग करिब एक करोड जनसंख्या देश बाहिर रहन पुगेको छ । बाल बच्चा र बुढा बुढीहरु त उत्पादनशील शक्ति नै भएन । उनीहरुलाई हुर्काउने, बढाउने, पढाउने र स्वस्थ हुने गरी पालन पोषण गरी आदर निकेतन सम्म राखेर वा आफ्नै घरमा भएपनि सुविस्तासाथ बाँच्ने काम परिवार, समाज र राज्यको हो । हामी कहाँ राज्य यन्त्र नै बेबकुफ भएको कारण बालबालिकाहरु मरी मरी बाँच्न बाध्य छन् । बुढा बुढीहरु रोगले पीडित छन् । आफ्नै परिवारले हेला होचा गरी बाँच्न बाध्य भइरहेका छन् । साथ साथै युवा पलायनका कारण बालबालिका, महिला र बुढा बुढीहरु समेत मुस्किलले जीवन बिताउनु परेका छन् ।

युगौंदेखि शासक वर्गलाई ईश्वरको अवतार, देवदूत र धर्मराज मानेर बसेका कारण देशमा प्रजातन्त्र पुन बहाली भएको पैतीस वर्ष भैसकेर पनि अहिलेसम्म यो देश संसारभरका लागि सस्तो ज्यामि उत्पादन गर्ने स्थानको रुपमा रहेको छ । यो नाजायज चीज कहिलेसम्म कायम हुने हो भन्न सक्ने अवस्था छैन । हामीले यसरी आत्मनिर्भर भएर युवा शक्ति प्रयोग गरी देशलाई अगाडि बढाउने उपाय नअपनाएसम्म यो प्रबृत्तिले निरन्तरता लिने सम्भावना छ । यहाँको प्राकृतिक श्रोत साधनको पू्र्ण प्रयोग, उत्पादनशील जनशक्तिको सही उपयोग र पलायन हुँदै गएको युवा शक्तिलाई स्वदेशमै परिचालन गरी यहाँको माटो, हावा र पानी प्रति दृढ मायाले ओतप्रोत पार्ने वातावरण बनाउन नसकेसम्म यहाँका जनताले सुख, शान्ति र अमनचयनले बाँच्न पाउने छैनन् । यो कुरा संसारलाई थाहा छ, तर बृद्धा नेताहरुले आफूहरुलाई बिस्थापित गरी लग्ला, नयाँ पुस्ताले आफ्नो स्थान ओगटिएला र आफूहरुले मात्रै ल्याएको जस्तो ठानिएको प्रजातन्त्रिक र गणतान्त्रिक शासन पद्धतिलाई सदा आफूहरुले मात्रै उपयोग गरिरहन पाउनु पर्छ भन्ने ढिपिका कारण युवा पुस्ता झन झन पलायन हुन पुगेका छन् ।

आखिर नयाँ पुस्ताको लागि सही वातावरण तयार पार्नको लागि पुरानो पुस्ताले काम गर्ने हो । एक दिन हरेक ब्यक्ति र सममाजका विभिन्न वर्ग यो संसार त्याग गरी जानै पर्ने हुन्छ । यो कुरा नेतृत्व वर्गले ध्यान दिनु पर्दछ । सदा आफूहरुले मात्रै यो संसार सम्हालेर बस्न पाउँदैन । त्यसैले पनि हामीले आफ्नो हित र अधिकारको लागि हरेक क्षेत्रमा नयाँ पुस्ता तयार गर्न सक्नु पर्दछ । यो भनेको संसारको नियम नै हो । तर यहाँ सदा पुरानो धारणा लिएर बाँचिरहेकाहरुले आफू मरे दुमै राजा भने झैं गरी आफू शासन सत्तामा रहेसम्म आफ्नो हातमा अधिकार प्राप्त भएसम्म आफ्नै खालको काम गर्ने परिपातिको विकास गरिरहेको छ । यो दीर्घकाल सम्म टिक्ने कुरा पनि होइन । हरेक बस्तु परिवर्तनशील रहन्छन् । हिजो सम्म कतिको ज्वजल्यमान भइरहेका चीजहरु आज आएर मर्केको अवस्था छ । हिजो साधारण रुपमा रहेका कतिपय चीजहरु भोलि अत्यन्तै उच्च तह पार गर्ने पनि सम्भावना रहन्छ । यो सबै समयले देखाउने चीजहरु हुन् । समाज विकासको यो क्रमलाई कसैले छेकेर छेक्न सकिन्न । कतिपय समाज र वातावरणसंग आफूलाई समाहित गर्न नसकेका भयानक भयानक जीव जन्तुहरु आज संसारबाटै लोप हुन पुगेको बैज्ञानिकहरुको तर्क छ । बाँच्नका लागि संघर्ष गर्न नसकेकाहरु त्यस्तै नियति भोग्नु पर्ने हुनजान्छ ।

युवा पुस्ताले आफ्नो राजनीतिक पार्टी र अन्य राजनीतिक पार्टीका कमी कमजारी र पुरानो पुस्ताको हेपाहा प्रबृत्ति बारे राम्ररी जानकारी राखेका हुन्छन् । यो हिसाबले पनि आज नेपाली समाज युवा पुस्ता विहीन हुन पुगेको भनेको देशमा भोलिका लागि ठूलो घाटा नै हो । संसारका युद्ध भइरहेका स्थानहरुमा पनि बालक र महिलाहरु समेत मारेर नयाँ पुस्तालाई नै समाप्त पार्ने काइदा महिताहरुले अपनाइरहेका छन् । युक्रेन र रुसको युद्ध अनि कमसेकम पैत्तालिस हजारको ज्यान जाने गरी भएको इजरायल प्यालेस्टाइन युद्धमा पनि नयाँ पुस्तालाई समाप्त गरी सदा आफूहरुले संसारलाई कब्जामा पार्ने दाऊ हेरिरहेको छ । यो संसारमा हिजोदेखि आजसम्म चलिरहेको युद्धको नियम नै हो । यो संसारलाई परिवर्तन गर्नको लागि नयाँ पुस्ताले युवा शक्तिलाई सही मार्गनिर्देशन गरी आज नभएपनि भोलि संसारलाई सुधार्नु पर्दछ । हिजोसम्म शासक वर्गको अन्याय अत्याचार सहेर भएपनि संसारलाई बचाउने गरेको देशहरुको उदाहरण दिएर भएपनि हामीले भोलिको देशको उज्ज्वल भविष्यको लागि काम गर्नु पर्दछ ।

मानव हित, समाजको उन्नति र नयाँ पुस्ताको भविष्यलाई राम्ररी ध्यान दिएर संसारमा थुप्रै गतिविधिहरु भइरहेका हुन्छन् । हामी कहाँ भने चुनाव जित्न सक्ने लालसाले मात्रै ५० रुपियाँ महिनाको भत्ता दिइएको रकम बढाएर विपक्षी सरकारले एक सय रुपियाँ पुर्याई दिन्छन् । साथै अर्को दलको सरकार आएपछि एकैपल्ट त्यसलाई पाँच सय पुर्याउँछन् । साथै अर्को दलले त्यो बृद्धभत्ता एक हजार, दुई हजार गर्दै हाल चार हजार मासिक पुर्याइसकेको छ । यो राम्रो कुरा पनि हो । तर यसको ब्यवस्थापन गरी भत्ता बढाउने कामहरु अन्य पषलाई पनि गर्न सक्नु पर्दथ्यो । एकल महिला भत्ता, बृद्धा भत्ता, अपांग भत्ता र सरकारी कर्मचारीहरुलाई दिँदै आएको निबृत्तिभरणको राम्ररी ब्यवस्थापन गर्न सक्नु पर्दथ्यो । त्यसको लागि देशका सषम र तागत भएका युवा जनशक्तिलाई स्वदेशमै राखी राम्ररी परिचालन गर्न सक्नु पर्दछ । संसार कसरी चल्ने गर्दछ भन्ने कुरा नयाँ पुस्तालाई राम्ररी सिकाउनु पर्दछ । खाली सत्तामा आफूहरु मात्रै रहन पाउने लालसाले बृद्धभत्ताको रकम बढाउने नगरी नीति नै निर्माण गरी के गर्यो भने देशबासीको सुख सुविधा प्राप्त गर्न सकिन्छ भन्ने कुरामा सबै जसो राजनीतिक दल र बुद्धिजिवीहरुले समेत ध्यान दिनु सक्नु पर्दछ । अनि मात्रै नेपाली युवाहरुलाई विदेश पलायन हुने मोहबाट बचाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!