काठमाडौं , १० मंसिर २०८१ः
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्।
सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार मुद्दा नचलाउने निर्णय गरेलगत्तै अधिकारी रिहा भएका हुन्। पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ।
पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक ११ मा जापान उडेका थिए। तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए।
त्यसक्रममा मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो। डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो।
त्यसक्रममा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेसमेत पक्राउ परेका थिए। पछि प्रहरीले थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै पूर्वमन्त्री अधिकारीलाई कात्तिक २५ मा विराटनगरस्थित निवासबाट पक्राउ गरेको थियो।