शोषणरहीत ब्यवस्थाको अपेक्षाः कृष्ण प्रजापति

देशमा हाल पूँजीवादी ब्यवस्था छ । पूँजीवादी ब्यवस्था संग संगै शोषण पनि छाँया जस्तै आइरहने पद्धति हो । पूँजीवाद र शोषण पर्यायवाची शब्द जस्तै संग संगै आइरहने चीज हो । पूँजीवादी ब्यवस्था कायम भइरहेसम्म देशमा शोषण, अन्याय, अत्याचारको अन्त्य हुन सक्दैन । सर्वहारा वर्गसंग शोषण गरेर नै पूँजीपति वर्गले राज गरिरहने ब्यवस्था पूँजीवादी ब्यवस्था हो । त्यसैले पनि परापूर्व कालमा सामन्तवादमा समन्त वर्गले राज गरे जस्तै पूँजीवादी ब्यवस्थामा पनि पूँजीपति वर्गले राज गर्ने गर्दछन् । त्यसलाई आमूल परिवर्तन गरेर समाजमा समानता र न्यायको अवस्था सिर्जना गर्नको लागि भने पूँजीवादमा चुर्लुम्म दुबेर होइन कि बरु त्यसलाई समूल नष्ट पारेर समाजवादी ब्यवस्थाको लागि भीषण संघर्षको आवश्यकता पर्दछ । त्यसको लागि सवल, सषम र इमान्दार परिवर्तनशील क्रान्तिकारी शक्तिको आवश्यकता रहेको हुन्छ । आज पूँजीवादी ब्यवस्थाले अत्यन्तै जरा गाढिसकेको कारणले देशमा त्यस खालको परिवर्तनकारी शक्तिको निर्माण हुन सकिरहेको छैन । तर समय परिस्थितिले गर्दा एक दिन जनताको चेतना बृद्धि भएर त्यस खालको परिवर्तनशील शक्ति निर्माण हुने नै छ ।

पूँजीवादी ब्यवस्थामा बस्तुको भाऊ दैनिक रुपमा बढ्दै जाने गर्दछ । हिजो ७ हजार रुपियाँमा पाउने गरेको सुन अहिले तोलाको १ लाख ६५ हजार नाघिसकेको छ । यो पूँजीवादी शासन ब्यवस्थाकै करामत हो । सुनको भाऊ त अन्तर्रास्ट्रिय रुपमा बढ्ने भएकाले सो अनुसार कामय हुन पुग्यो भनौं । हामीले दैनिक रुपमा उपभोग गरिरहेका गाउँ ठाउँमा पाउने चीजहरु समेत हिजो दुई रुपियाँमा पाउने चीज अहिले असी देखि सय रुपियाँ तिर्नु पर्ने अवस्था छ । सात रुपियाँ प्रति लिटरमा पाउने मट्टितेल देढ सय नाघिसकेको छ । अनि हाम्रो आर्थिक अवस्था भने हिजो भन्दा झन झन तल झरिरहेको अवस्था छ । यसरी हेर्ने हो भने राजनीतिक पहुँच पुगेका र शासन सत्तामा पुगेका सीमित मानिसहरुले बाहेक कसैले पनि सहज रुपमा जीवन यापन गर्न पाइरहेका छैनन् । पूँजीवादी ब्यवस्था भनेकै सीमित मानिस धनी भएर उच्च जीवन यापन गर्न पाउने र अधिकांश काम गरी खाने गरेका ज्यापु ज्यामिहरुको भने सदा बिहान खाएर बेलुकी के खाने र आज खाएर भोलि बिहान के पो खाने होला भनेर गम्नु पर्ने गरी कठीन जीवन बिताउनु पर्ने ब्यवस्था हो । हामीकहाँ मात्रै होइन कि जहाँ जहाँ सामन्तवाद र पूँजीवादले स्थान ओगटेको हुन्छ । त्यहाँ त्यहाँ त्यस खालको परिपाति कायम भएर गरिव जनताले दुख भोगिरहेको हामी पाउँछौं ।

ब्यापक जनताको हीत गर्ने ब्यवस्था भनेको समाजवादी ब्यवस्था हो । त्यहाँ झन झन सामानको भाऊ सस्तो हुने गर्दछ । चीनमा सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीले समाजवादी ब्यवस्था लागू गरी शासन सुरु गरेपछि तीस वर्षसम्म हरेक सामानको भाऊ स्थिर रह्यो । एउटै भाऊमा सामान दिएर जनतालाई खुसि बनाइरह्यो । त्यसपछि त आज भन्दा भोलि र भोलि भन्दा पर्सि झन झन बस्तुको भाऊ सस्तोमा पाउने गरेको छ । पूँजीवादी समाजमा उत्पादनका साधन सीमित पूँजीपति वर्गको हातमा रहने कारण उनीहरुले नाफा कमाउनको लागि बस्तुको भाऊ दैनिक रुपमा बढाउने गर्दछन् । तर समाजवादी देशमा उत्पादन सबै राज्यले हेर्ने भएकाले बढी भन्दा बढी बस्तुको उत्पादन हुने गरेकाले उपभोक्ताहरुको हातमा हिजो भन्दा आज र आज भन्दा भोलि सस्तोमा बस्तु पुर्याउन सफल हुने गर्दछ । यो सम्भव चीज पनि हो । अरवौं जनसंख्या भएको चीनमा माछा यति उत्पादन हुने गर्दछ कि दैनिक रुपमा सारा चिनियाँबासीहरुले माछा खाँदा पनि नसकेर विदेश निर्यात गर्न समेत सक्षम हुने गर्दछ ।

यसरी पूँजीवादी ब्यवस्था र समाजवादी ब्यवस्थाको भिन्नता बारे हामी नेपाल जस्तो विकासोन्मुख देशका जनतालाई बुझाउन हतार भैसकेको छ । पूँजीवादी ब्यवस्था शोषणसहितको ब्यवस्था हो भने समाजवादी ब्यवस्था शोषणरहीत ब्यवस्था हो । यो कुरा सारा नेपाली जनताले बुझ्नु पर्दछ । पूँजीवादी ब्यवस्थाले निजीकरणलाई जोड दिने गर्दछ । तर समाजवादी ब्यवस्थाले भने समाज वा सरकारको स्वाभित्वमा उद्योग, कलकारखाना लगायतका उत्पादनका साधन नियन्त्रण गर्ने गर्दछन् । त्यसले गर्दा पनि त्यहाँ आर्थिक अपचलन हुन सक्दैन । कसैले त्यसो गरेको थाहा पायो भने उसलाई ज्यान सजायँ हुने गर्दछ । कतिपय समाजवादी देशहरुले भ्रष्टाचार गरी अकूत सम्पत्ति जोडेका शासकहरुलाई ज्यान सजायँ दिएको वा फाँसी चढाएको थुप्रै उदाहरणहरु छन् । समाजवाद आएपछि खराब गुण परिवर्तन गर्न सकिएन भने ज्यान सजायँ भोग्नु पर्ने समेत हुन जाने गर्दो रहेछ ।

जहिलेसम्म हामी कहाँ पूँजीवादी ब्यवस्था कायम रहन्छन्, गरिब जनताले सुख सुविधापूर्वक जीवन बिताउन सकिन्न । त्यसो हुनुको कारण यो देशमा हिजो पंचायती ब्यवस्थाको पालामा राजाको नाममा रहेपनि सञ्चालनमा रहेका कतिपय कलकारखाना, उद्योग, ब्यवसाय सबैजसो हाल सीमित पूँजीपति तथा विदेशीको हातमा पुगिसकेकोले हो । हाल उनीहरुले हतपति सो चीजहरु हामीलाई फिर्ता दिनै सक्दैनन् । न त हामीले ती चीजको दाम लिइसकेको हुनाले हामीले पुन पैसा तिरेर फिर्ता लिन्छु भन्दा पनि दिन तयार हुने गर्दछन् । त्यसले गर्दा हामी झन झन गरिब हुन पुगेका छौं । एक पछि अर्को कल कारखाना बेच्ने,

बाहिरी मानिसहरुलाई सञ्चालन गर्न दिने प्रबृत्तिका कारण हामी स्वदेशमा काम नपाएर विदेश पलायन हुन बाध्य भइरहेका छौं । त्यसले गर्दा विदेशीहरु यहाँ आएर अझ भारतीयहरुले यहाँ पसेर नेपाली नागरिकता समेत लिएर पनि उनीहरुले नेपालमै बसी सजिलै जीवन यापन गरिरहेको पाउँछौं । यो पूँजीवादी ब्यवस्थाले हाम्रो राष्टिय सम्पत्तिको दुरुपयोग गरी विदेशीलाई बेचेकाले जति बढी नाफा लिएर सामान बेचे तापनि जनताले सहनु पर्ने अवस्था छ ।

नेपाली जनतालाई पूँजीवादी शासन ब्यवस्था र समाजवादी शासन ब्यवस्थाको भेद बारे बुझाउन नसकेसम्म यहाँ राजनीतिक पार्टीको भेद र को असल र को खराब भन्ने समेत अलग्ग गर्न सकिन्न । साधारण जनताको नजरले हेर्दा सबै समान देखिरहेका हुन्छन् । तर कम्युनिष्ट नै नाम राखेर पनि पूँजीवादी सोच र धारणाले प्रेरित रहेकाले झन बढी हामी कहाँ शोषक भएर काम गरिरहेका छन् । बरु स्पष्ट पूँजीवादी दल हौं भन्नेले आफ्नो धर्म नै त्यही हो भनेर असल र इमान्दार शोषक बनेका छन् । तर समाजमा शोषण, दमन र अत्याचारको अन्त्य गर्ने नारा दिएर स्थापना गरिएका कतिपय कम्युनिष्ट पार्टीहरुले समेत पूँजीवादी ब्यवस्थाको सत्तामा पुगेर जनताको शोषण, दमन र अत्याचार गर्ने गरिरहेको देख्दा झन नेपाली जनताले शत्रु र मित्र थाहा नपाएर अलमलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!