झन् बढ्यो ललितपुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमणः बङ्गुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह

ललितपुर, २१ मंसिर २०८१ः

अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमणका कारण ललितपुरमा पालिएका दुई सय भन्दा बढी बङ्गुर मरेका छन्।

जिल्ला पशुसेवा कार्यालय ललितपुरले खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएको जनाएको छ। ललितपुर महानगरपालिका पशुसेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेको हो।

कात्तिकको अन्तिम साता नख्खु खोला आसपासमा किसानले पालेका बङ्गुरमा रोग देखिएर मर्न थालेका बताउँदै अहिले पनि सङ्क्रमण फैलिँदै गएको पशुसेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले जानकारी दिए । उनले भने, ‘रोग फैलिँदै गएको छ। अहिलेसम्मको तथ्याङ्कका आधारमा किसानका दुई सय भन्दा बढी बङ्गुर मरेका छन्। अहिले दक्षिणकालीमा सङ्क्रमण बढी देखिएको छ।’

बङ्गुरमा देखिने अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा तीव्र रूपमा फैलिनसक्ने भएकाले ललितपुर महानगरपालिका पशु सेवा शाखाले बङ्गुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ललितपुर महानगरपालिका–२२ चुनिखेल, धापासी, नख्खु खोला करिडोरलगायत क्षेत्रमा पालिएका बङ्गुर मरेका हुन्।

बङ्गुरलाई उक्त सङ्क्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले सङ्क्रमण देखा परेका बङ्गुरलाई छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने भन्दै किसानले पनि उच्च सतर्कता अपनाउनुपर्ने केन्द्रीय पशुसेवा विभागका सूचना अधिकारी सुधीरकुमार सिंहले बताए। उनले भने, ‘महानगरभित्रका किसानले पालेका बङ्गुरमा रोग देखिएका छ। पशु शाखाले त्यसको न्यूनीकरण गर्ने लागि पहल गरिरहेको छ।’

अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा भने नसर्ने बताउँदै पशुबाट पशुमा सर्ने जोखिम रहेकाले पश स्याहारमा विशेष सावधानी अपनाउनुपर्ने विभागका सूचना अधिकारी सिंहले बताए। ‘सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण यो रोग सर्ने र मृत्यु हुने गर्छ’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!