पूँजीवादी ब्यवस्थाको विशेषताः ० कृष्ण प्रजापति

पूँजीवादी ब्यवस्था पूँजीमा आधारित ब्यवस्था हो । त्यहाँ आफन्त र अरु भन्ने चीज पनि रगतको भन्दा नगदको नाता घनिष्ठ हुन्छ । जोसंग पैसा धेरै हुन्छ उसले शासन गर्दछ । पैसा भएन भने आफ्नो बुवा, छोरा आफन्त कोही पनि आफ्नो हुँदैन । पैसाले मानिसलाई दास बनाइरहन्छ । पैसा मालिक हुने र मानिस दास हुने ब्यवस्था पूँजीवादी ब्यवस्था हो । त्यसको विपरित मानिस मालिक भएर पैसा दास हुने ब्यवस्था समाजवादी ब्यवस्था हो । पूँजीवादी ब्यवस्था र समाजवादी ब्यवस्थाको मूल भिन्नता भन्नु नै पैसा मालिक हुने र मानिस मालिक हुने हो । अनि त्यस भित्र नै शोषण, दमन, अन्याय, अत्याचार पनि संग संगै आइरहन्छन् । शोषण र दमन पूँजीवादी ब्यवस्थाको विशेषता हो । पैसाको भरमा समाज चल्ने कारण पूँजीवादी ब्यवस्था र भ्रष्टाचार पर्यायवाची शब्द जस्तै देखा पर्छन् । जहाँ पूँजीवादी ब्यवस्था कायम रहन्छ, त्यहाँ भ्रष्टाचार पनि संग संगै आई रहन्छन् । समाजवादी ब्यवस्थामा भ्रष्टाचार गरेको थाहा भयो वा राज्यको अनुसन्धानबाट त्यस्ता कुरा प्रमाणित भयो भने जतिसुकै उच्च पद धारण गरेको पदाधिकारी भएपनि उसलाई राज्यले ज्यान सजायँ दिने गर्दछ ।

छलछाम, षडयन्त्र र लोभलालच गर्नेको लागि पूँजीवादी ब्यवस्था स्वर्ग नै ठहरिन्छ । तर काम गरी खाने दुख सुख गरी जिउने मेहनतकस साधारण जनताको लागि भने त्यसले केही पनि फलिफाप गर्ने वातावरण बनाउने गर्दैन । देशमा पूँजीवादी ब्यवस्था पुन स्थापना भएको आज पैत्तीस वर्ष पूरा भइसकेको छ । यो अवधि भित्र झन झन देशमा आर्थिक असमानता कायम हुन पुगेको छ । हिजो साधारण जनताले पनि बिहान बेलुकी दुई छाक त सहजै खान पाइरहेको थियो । अहिले भने धनीमानीहरु धेरै जसो प्राडो पजेरो चढेर रमाइरहेको अवस्था छ । तर गरिब र सर्वहारा जनताले भने मेहनत गरेर पनि खान लाउन मुस्किल भइरहेको अवस्था छ । यसरी असमानता र आर्थिक दुराबस्ता कायम हुनु पूँजीवादी ब्यवस्थाको विशेषता हो । देसमा पूँजीवादी प्रजातन्त्र पुनर्वाहाली भएपछि नै झन झन जग्गा जमीन, खाने अन्न, दैनिक उपभोग्य सामानहरुका साथै सबै चीजहरुको भाउ बढ्ने गरेको छ । सामान बोक्नको लागि चाहिने गाडी र गाडीको लागि नभै नहुने प्रटोलियम पदार्थको भाउ बढेपछि सबै चीजहरुको भाउ बढेको हो । तेलको भाउ बढेपछि ९० प्रतिशत भन्दा बढी तेल भित्रिने देश भारतलाई निकै फाइदा हुने गर्दछ भने हामीले सदा घाटा ब्यहोर्नु पर्ने हुन्छ । यो पूँजीवादी राजनीतिक ब्यवस्थाले देखाएको औपनिवेशवादी चरित्र हो ।

सामानको ब्यापार र सामानको आपूर्ति आज यातायात सहज भएका कारण सजिलो भइसकेको छ । तर खाद्य सामग्रीको उत्पादनलगायत स्वच्छ खानाको संरषण आज अत्यन्तै कठीन कार्य हुन पुगेको छ । यहाँ उत्पादन भएका चीज जति महत्व हुने हो । बाहिरबाट आएको सामान यहाँ उपयोग गर्दा हामीलाई आर्थिक नोक्सान मात्रै होइन कि पुरानो हुने र बिग्रने कारण हाम्रो स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्ने सम्भावना छ । भारतबाट दैनिक करोडौं रकमको नेपाल भित्रिने माछामा समेत विदेसबाट मानिस मर्यो भने कुहेर गन्हाउनबाट बचाउनका लागि मृतकको वाकसमा पाय्क गरेर राखिने कडा औषधी नै राखेर ल्याउने कारण मानिसहरुको स्वास्थ्यमा सीधा असर गर्ने गरेको जनस्वास्थ्य अधिकृतहरुकको धारणा छ । त्यसैगरी तयारी खाद्य पदार्थमा पनि महिना दिन मात्रै होइन कि वर्षौं वर्ष सम्म पनि नकुहिने गरी राख्नको लागि कडा अखाद्य पदार्थहरु मिसाएर ल्याउनाले ती बस्तुहरुको उपभोगबाट क्यान्सर लगायतका प्राण घाटक रोग लागिरहेको विज्ञहरुको धारणा छ । पूँजीवादी ब्यवस्था पैसा भयो भने साधारण जनताको जीवन नष्ट भएपनि वा मानिस मर्ने नै भएपनि आफ्नो आन्दानी हेर्ने सोच परिवर्तन नगर्दा रहेछन् । यहीं नै मानिस दास र पैसा मालिक हुनु हो ।

नेपालमा अहिले पनि थुप्रै स्थानहरुमा अर्गानिक खेती भइरहेका छन् । चालिस पचास वर्ष भैसक्यो देशमा रासायनिक माल भित्रिएको । तर हाल सम्म पनि इलाम जिल्लाले जिल्ला भित्र रासायनिक मल भित्रयाएको छैन । अझ इलाम नगरपालिकाले त नगर भित्र प्लाष्टिक निषेध गरेको दशकौं भैसकेको छ । राम्रो कुराको अनुकरण गर्नु र नराम्रो कामलाई विरोध गर्नु मानविय स्वाभाव हुनु पर्ने थियो । तर यहाँ त अरुले कसरी धेरै पैसा कमाए र आफूहरुले त्यो भन्दा बढी कसरी कमाउन सकिन्छ भनी सोच विकास गरी जनस्वास्थ्य र जनजीविकामा जस्तो सुकै परिणाम देखिएपनि मतलब नै नगर्ने प्रबृत्ति विकास भइरहेको छ । पैसा भयो भने आफ्नो जहान परिवार, छरछिमेक र समााज मरे पनि केही मतलब नगर्ने संस्कारको विकास भएको छ । आफू मात्रै भलो भए अरु मरे पनि बाँचे पनि केही पनि वास्ता नगर्ने चलन पनि साधारण हुन पुगेको छ । तर यो मानवीय भावना वा सामाजिक न्याय भने होइन । मत्श्य न्याय भने झैं ठूला माछाले साना माछालाई क्वाप्लाक्कै निल्ने पूँजीवादी संस्कार संस्कृति हो ।

उत्पादन र वितरण प्रणाली राम्रो पार्न सकिएको खण्डमा हाम्रो देशमा उत्पादन हुने चीजले अहिलेसम्म हामी बाँच्न सषम हुनेछौं । तर यहाँ बाँझो खेत धेरै भैसकेको छ । भएको खानीहरुलाई प्रशोधन गरी निकाल्न सकिएका छैनन् । चीनमा संसारकै ठूलो मात्रामा हालै सुन खानी फेला पर्यो भन्ने प्रमाणित भएसंगै राज्य नै लागेर सरकारले प्राकृतिक श्रोत साधनहरुलाई सही सदुपयोग गर्न लागिपरेको छ । हामी कहाँ पनि यहाँको हिमालबाट निरन्तर बगिरहने प्राकृतिक नदीको पानी, बन जंगल र उपयोगी माटो जस्ता प्राकृतिक श्रोतहरुको सदुपयोग गरी नेपाली समाजलाई विकास गर्ने सोच यहाँका शासक वर्गसंग भएको खण्डमा हाम्रो देश कुनै पश्चिमा देश भन्दा अगाडि बढ्न नसक्ने देश होइन । तर यहाँका राजनीतिक पार्टीहरुको सोच धेरै जसो विदेशी गुलामी गर्ने भएका कारण यहाँको उद्योग, कल कारखाना तथा प्राकृतिक श्रोत साधनहरु सबै विदेशीको नियन्त्रणमा गएको हो । उनीहरुलाई आफ्नो घर जलाएर खरानी बेच्ने सोच आइरहेको छ ।

नेपाली समाजमा देखा परेको त्यस्तो पूँजीवादी सोच विचारले हामी झन झन पछि पर्दै गइरहेका छौं । बरु अर्थतन्त्र विकास गर्नको लागि राज्य सरकारले सम्पूणर् कल कारखाना र उद्योग कब्जा गरी त्यसबाट उत्पादन हुने सामान सबै नेपाली जनताको लागि सस्तोमा बेच्ने र थप उत्पादन हुन गएको खण्डमा विदेशमा समेत निर्यात गर्ने कार्य सरकारले गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!