माइती नेपालमा प्रधानमन्त्री ओली: अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा

काठमाडौँ, पुस २९, २०८१ः

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयको सोमबार स्थलगत अवलोकन गर्दै उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ। चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकोमा सन्तोष व्यक्त गर्नुभयो।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायत स्थल पुग्नु भएको छ। प्रधानमन्त्री ओलीले माइती नेपालमा रहेका प्रभावित महिला, बालबालिका र विद्यार्थीसँग भेटसमेत गर्नुभएकाे छ।

माइती नेपालका संस्थापक अनुराधा कोइरालाले प्रधानमन्त्री आएर हेर्नुभयो र सहयोग गर्ने प्रतिबद्धता नै हाम्रा लागि ठुलो कुरा हो भन्नुभयो । कोइरालले भन्नुभयो, ‘‘सरकारले के गर्नुपर्छ प्रधानमन्त्री आफैँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयन हुने विश्वास छ । सामाजिक कार्य गर्दा सरकारको साथ पाउँदा अघि बढ्न अझै प्रेरणा प्राप्त हुन्छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!