सामाजिक विभेदको सम्बोधन ० कृष्ण प्रजापति

नेपाली समाजमा कूल जनसंख्याको दश प्रतिशत जति अपांग ब्यक्तिहरु रहेको तथ्यांक छ । आदिवासी अपांगहरु र दलीत वर्गलाई नेपाली समाजले निकै धेरै विभेद गरिरहेका छन् । समाजले गरिरहेको यो विभेद सामाजिक चेतनाको तर्फबाट परिवर्तन गर्नु पर्ने हुन्छ । त्यसको लागि विभिन्न जातीय संगठन, राज्य सरकारको विभिन्न पक्ष र अपांग, अल्पसंख्यक जाति आफै सचेत हुनु जरुरी छ । हामी कहाँ अपांगताको परिभाषा नं न्यायोचित हुन सकिरहेको छैन । त्यसले पनि उनीहरुलाई थप पीडित गरिरहेको छ । आम सञ्चारका माध्यममा समाचार प्रशारण हुने समय सम्म पनि लुला, लंगडा, अन्धा जस्ता लक्षित वर्ग प्रति हेपाहा शब्द प्रयागका कारण समाजमा यो लक्षित वर्ग थप पीडामा परी विभेद चर्किरहेको छ । त्यसमा पनि लामो समयदेखि असक्षमको रुपमा परिभाषित गरिरहेका दलीत, पीडित, जनजाति र अल्प संख्यक आदिवासी अपांगहरुको मामलामा ध्यान दिने हो भने झन बढी उनीहरु निरिह हुने गरेको छ । यो सम्पूर्ण समस्याको समाधान गर्ने माध्यम सामाजिक जागरण नै हो । कसैलाई केही गर्नु अगाडि यो समाजमा कसरी प्रतिष्ठापित गर्ने भन्ने ध्यान दिन सकिएन भने हामीले कसैलाई चाल नपाईकन उक्त लक्षित समुदाय अपांगहरु प्रति घाट गरिरहेका हुन्छौं ।

आम सञ्चार माध्यमलाई समाजमा आवाज बिहीनहरुको आवाज अथवा भरोसा बिहीनहरुको भरोसाको रुपमा लिने गरेको छ । तर त्यस्तो सञ्चार माध्यमबाट शब्द प्रयोग गर्दा यदि यो समुदाय प्रति लक्षित शब्द उचित हुन सकिएन भने उनीहरुलाई उक्त समाचारले थप पीडा हुन सक्दछ । सत्य र तथ्यपरक कुरा बाहिर ल्याएर समाजलाई मार्ग निर्देशन गर्ने कार्य आम सञ्चार माध्यमको हुनु पर्ने थियो । यस्तो कार्य गर्न सकेको खण्डमा आम सञ्चार माध्यममा आम नागरिकको विश्वास बढ्ने थियो । तर हिजो आज सामाजिक सञ्चालको अत्यधिक प्रयोग भए तापनि उनीरुले दिने समाचार र सूचनाहरु निहित प्रोपोगन्धा मात्रै हुने भएकाले ती सञ्चार माध्यमहरु हाल जतिसुकै छिटोछरिटो भएपनि विश्वासिलो बन्न सकिरहेको छैन । उनीहरुले दिने समाचार सन्तुलित र जन उत्तरदायिपूर्ण पनि हुन सकिरहेका छैनन् । यी सञ्चार माध्यमहरु योग्य, सक्षम र जन उत्तरादायि हुन सकिएको खण्डमा महिला, दलीत लगायत चेपांग जस्ता अल्पसंख्यक र पीछडिएका वर्गलाई अगाडि लान अत्यधिक मात्रामा सहयोग मिल्ने थियो । यस्ता कार्यमा पहिला आदिवासी जनजाति पत्रकारहरु नै अगाडि बढ्नु पर्ने हुन्छ । होइन भने आज देशमा जुन हविगत कायम भइरहेको हो, त्यो लामो समय सम्म पनि त्यस्तै कायम नरहला भन्न सकिने अवस्था छैन ।

एक सञ्चार माध्यमले अर्को सञ्चार माध्यमलाई तेरपुच्छर नै नगर्ने प्रबृत्ति हामी कहाँ छ । आफू मात्रै सक्षम, आफू मात्रै योग्य र अरुहरु केही पनि होइन जस्तो गरी ठान्ने प्रबृत्तिको कारण यो समयमा देशमा यति धैरै थरी सञ्चार माध्यमहरु रहे तापनि त्यसको शक्ति सदुपयोग हुन सकिरहेको छैन । देशमा प्रजातन्त्र पुन बहाली भएको ३५ वर्ष भइसक्दा पनि अहिले सम्म जनमानसमा पीडित वर्गले प्रजातन्त्रको आधारभूत अधिकार प्रयोग गर्न सकिरहेका छैनन् । त्यसैले पनि जो ब्यक्ति समाजमा पछि परेका हुन्, उनीहरुलाई उकास्ने कार्यहरु गरिरहनु पर्दछ । अपांगता भित्रको विभिधता बारेमा पनि अत्यन्तै ध्यान दिनु आवश्यक छ । अपांग रहेका ब्यक्तिहरुको हक अधिकार र जीवन सुनिश्चितताको लागि पनि उनीहरुलाई अधीक बहु आयामित तवरबाट विचार गर्न सक्नु पर्दछ । हाम्रो देश नेपालमा आदिवासी जनजाति, दलीत, अपांगता रहेकाहरुको लामो आन्दोलनको इतिहास छ । त्यसो भएर पनि अहिलेसम्म पनि उनीहरुको अधिकार सुरक्षित भने हुन सकिरहेका छैनन् । समाजमा आफ्‌नो अधिकार प्राप्त गर्नको लागि आवाज बिहीनहरुको आवाजको रुपमा रहेको सञ्चार माध्यमलाई प्रयोग गरी आफू सक्षम बन्ने प्रयास अपांग संघ संस्थाहरुले पनि गर्न सक्नु पर्दछ ।

देशमा लोकतन्त्रको स्थापना संगसंगै आदिवासी जनजाति आयोग गठन भएको छ । एक हिसाबले यो आदिवासी जनजातिलाई भरोसा राख्न राज्यले प्रदान गरेको सुविधा नै हो । त्यसो भएर पनि हामीले प्राप्त अधिकारहरुको सदुपयोग गर्न सकिएन भने त्यसबाट केही पनि फाइदा लिन सकिने छैन । आदिवासी जनजाति आयोगले प्रत्येक समयमा आदिवासी जनजाति समुदाय भित्रको गतिविधिहरुलाई समेटेर वार्षिक प्रतिवेदन तयार पारी राष्टपति मार्फत् नेपाल सरकारलाई बुझाउने गर्दै आइरहेको छ । तर त्यसो भएपनि त्यस प्रतिवेदनमा उल्लेख भए झैं गरी काम हुन सकिरहेका छैनन् । यो एक खालको यस्तो अन्योन्याश्रित मामला हुन पुगेको छ कि सुविधा दिएको छ पनि भन्ने तर वास्तविक रुपमा सुविधा दिनबाट पनि बञ्चित गर्ने । त्यस्तो हुन नदिनका लागि पनि हामी आदिवासी जनजाति समुदाय सक्षम, योग्य र चनाखो भएर प्रभावकारी भूमिका निभाउन सक्नु पर्दछ । २०४६ सालको मूल उपलब्धीहरु मध्ये सूचना क्षेत्र वा अभिब्यक्ति स्वतन्त्रता पनि एक हो । सो आन्दोलन पछि नै नेपालमा गोरखापत्र एउटामा सीमित रहेको सञ्चार क्षेत्र विकास भएर कान्तिपुर, हिमालय टाइम्स लगायतका दर्जनौं पत्रिपत्रिका प्रकाशित भयो । रेडियो तथा एफ एम र टेलिभिजनहरुको स्थापना भयो ।
यसरी देशमा बढ्दो सञ्चार माध्यमले आजको अवस्था सम्म योगदान गर्दा गर्दै हाल आफू आफू बीच पनि प्रतिश्पर्धा हुन थालेका छन् । कुन ब्यक्ति वा संस्थाले के कस्ता राम्रा र सकारात्मक प्रभाव पर्ने खालका समाचार र विचार छाप्ने गर्यो भन्ने भन्दा पनि पत्रिकाले पत्रिकाहरुलाई बहिस्कार गर्ने, एक सञ्चार माध्यमले अर्को सञ्चार माध्यमहरुलाई समेत बहिस्कार गर्ने तथा सञ्चार माध्यमलाई नै बहिस्कार गर्ने कार्यहरु समेत हुने गरेका छन् । अधिकार प्राप्त भएको मामलालाई बलियो बनाउने तथा अपांग, दलीत तथा असक्षम मानिसहरुलाई योग्य र सक्षम बनाउने जस्ता कार्यहरुमा सञ्चार माध्यमहरुको पनि ठूलो भूमिका रहेको हुन्छ । यो नदेख्ने र चाल नपाउने गरी हुने काम पनि होइन । बिस्तारै हुँदै जाने कुराहरु हुन् । त्यसैले पनि हामीले प्राप्त उपलब्धीहरुलाई सदुपयोग गरी थप उपलब्धी प्राप्त गर्नको लागि माध्यमको रुपमा सञ्चार माध्यमहरुलाई प्रयोग गरी आफ्‌नो कर्तब्य के हो भन्ने कुरामा पनि ध्यान दिनु पर्दछ । यो जातीय कुरा मात्रै होइन कि राष्ट र राज्यको लागि पनि महत्वपूर्ण पाइलो हो । यस क्रममा आदिवासी जनजातिलाई दिएको सुविधालाई सदुपयोग गर्न सक्नु पर्दछ । तर यहाँ अहिले सम्म पनि खस् नेपाली भाषाका केही पत्रपत्रिका बाहेक नेपालभाषा, तामांग भाषा, शेर्पा भाषा जस्ता अन्य जनजातिहरुको भाषाबाट पत्रपत्रिकाहरु बढाउन सकिरहेका छैनौं । त्यसले गर्दा सूचना विभागबाट दिने सुविधाबाट ती जनजातिहरु बञ्चित छन् ।

राज्य कायम हुनु अगाडि नै यहाँ रहेका भनेर राज्यले उनीहरुलाई थप केही सुविधा दिनु पर्दछ भनेर अन्तर्राष्टिय जगतले पनि दलित, पीडित तथा आदिवासी जनजातिलाई विशेष अधिकार पनि दिलाएका छन् । सो विशेष अधिकारलाई सदुपयोग गर्न सकिएको खण्डमा असक्षम र अल्पसंख्यक जाति पनि समाजमा अगाडि जाने अवसर प्राप्त हुने देखिन्छ । त्यसको लागि राज्यले प्रदान गर्ने गरेका कुराहरु प्रयोग गर्न सक्षम बन्नका लागि पनि सबै खालका पीछडा वर्गहरु अपांग, अल्पसंख्यक, दलित, आदिवासी जनजातिहरु अगाडि बढ्नु पर्दछ । होइन भने हात्ती आयो हात्ती आयो फुस्सा भने झै गरी प्रजातन्त्र र गणतन्त्र पनि हाम्रो लागि उपलब्धीहीन हुन जाने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!