वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण जुनसुकै मान्यता प्राप्त अस्पतालबाट गर्न पाइने

काठमाडौँ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट गर्न पाउने व्यवस्था गरेको छ।

मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने निर्णय गरेको हो। साथै, स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको मन्त्रालयले जनाएको छ।

यस निर्णयसँगै आवश्यक मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाले सूचीकरण प्रक्रियामार्फत वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सक्नेछन्।

यस विषयमा नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था कार्यान्वयन गर्न खोज्नु सकारात्मक कदम भएको बताउनुभयो। तर निजी क्षेत्रका स्वास्थ्य संस्था तथा व्यवसायीको व्यवस्थापन र नियमनलाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

श्रम तथा रोजगार मन्त्रालयले तोकेको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरेका छन्। हालसम्म यिनै स्वास्थ्य संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!