बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–४ कुमरस्थित सिङ्क सामुदायिक जङ्गलको बाटो प्रयोग गरी अवैध रूपमा ल्याइँदै गरेको ब्रोइलर कुखुरा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाबाट खटिएको प्रहरी टोलीले २०० वटा भारतबाट ल्याइएका ब्रोइलर कुखुरा बरामद गरेको हो। उक्त कुखुराको तौल करिब ६०० केजी र अनुमानित मूल्य करिब १ लाख ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले कुखुरा ढुवानीमा प्रयोग भएका चार वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा राप्ती सोनारी–३ निवासी ३२ वर्षीय सागर खत्री र वडा नम्बर ४ निवासी ३५ वर्षीय लक्ष्मण चौधरी रहेका छन्।
पक्राउ परेका व्यक्तिहरू, बरामद कुखुरा तथा सवारीसाधन आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।