सर्लाहीमा भारतीय अवैध कुखुरा आयात रोक्न माग, प्रशासनलाई ज्ञापन

मलंगवा, सर्लाही । सर्लाहीमा भारतबाट भइरहेको अवैध ब्रोइलर कुखुरा, चल्ला तथा अण्डाको आयात रोक्न माग गर्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका छन्।

नेपाल भेटेरिनरी लाइभस्टक एसोसिएसन (नेभ्ला) सर्लाहीका जिल्ला अध्यक्ष रमेश यादवले जिल्ला प्रशासन कार्यालय मलंगवामा ज्ञापनपत्र बुझाउँदै नेपाल–भारत सीमा नाकाबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम बढ्दै गएको भन्दै तत्काल नियन्त्रणको माग गरेका हुन्।

ज्ञापनपत्रमा सर्लाही जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध रूपमा ब्रोइलर कुखुरा भित्र्याउने गतिविधि दिनप्रतिदिन बढिरहेको उल्लेख गरिएको छ। यस प्रकारको अवैध आयातका कारण स्थानीय किसान, व्यवसायी तथा उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएको जनाइएको छ।

अध्यक्ष यादवले अवैध रूपमा भित्रिने कुखुरा, चल्ला तथा अण्डाका कारण बजार व्यवस्थापन प्रभावित भएको, स्थानीय किसानले उत्पादनको उचित मूल्य नपाएको तथा पशुजन्य रोग संक्रमणको जोखिम बढेको दाबी गरेका छन्। यस्ता गतिविधिले स्थानीय उत्पादनलाई कमजोर बनाउनुका साथै जनस्वास्थ्यमा समेत असर पुग्न सक्ने भन्दै प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरिएको छ।

नेभ्लाले प्रशासन समक्ष भारतबाट भइरहेको अवैध ब्रोइलर कुखुरा तस्करी तत्काल रोक्न, सीमा क्षेत्रमा कडा सुरक्षा र नियमित अनुगमन गर्न, अवैध तस्करीमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा स्थानीय किसान र व्यवसायी संरक्षणका लागि विशेष नीति लागू गर्न माग गरेको छ।

सर्लाहीका पोल्ट्री व्यवसायीहरूले सीमावर्ती क्षेत्रमा प्रभावकारी निगरानी र नियन्त्रण नहुँदा अवैध आयात बढ्दै गएको गुनासो गर्दै सम्बन्धित निकायको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!