कृषक साथीहरू,
हामी किसानहरू बिहानदेखि बेलुकीसम्म खटेर कुखुरा पाल्छौं, केही आम्दानी होला, परिवारलाई सहज होस् भन्ने आश गर्छौं। तर, बारम्बार देखापर्ने बर्ड फ्लु ले हाम्रो सपना, पसिना र लगानीलाई एकैचोटि खेर जान्छ। विशेष गरी काठमाडौं, चितवन र अन्य शहरहरूमा हरेक वर्ष बर्ड फ्लु महामारी आउँछ र हजारौं कुखुरा मर्ने घटना दोहोरिन्छ। किन यस्तो भइरहेको छ? हामी किसानहरूले के गर्न सक्छौं? यी प्रश्नको जवाफ खोज्नु आजको आवश्यकता हो।
बर्ड फ्लु के हो र किन बारम्बार देखिन्छ?
बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) एक भाइरल रोग हो, जसले विशेष गरी कुखुरा, हाँस, टर्की लगायतका चराहरूलाई असर गर्छ। H5N1 भाइरसका कारण फैलिने यो रोग चरा र कुखुराहरूबीच छिटो सर्छ। नेपालजस्तो देशमा, जहाँ जैविक सुरक्षा मापदण्डहरू प्रायः कमजोर छन्, रोगलाई नियन्त्रण गर्न अझ गाह्रो छ।
बारम्बार देखिनुको मुख्य कारण आप्रवासी चराहरू हुन्, जो हरेक वर्ष नेपाल आउँछन्। ती चराले भाइरस ल्याउन सक्छन्। कुखुरा बजारमा सुरक्षाको कमी, अनियन्त्रित ओसारपसार, र फार्महरूमा सरसफाइको अभावले पनि रोग फैलिन मद्दत गर्छ। कहिलेकाहीं, गलत सल्लाह, अवैज्ञानिक व्यवस्थापन र सस्तोमा काम चलाउने सोचले पनि हामी किसानहरूलाई ठूलो नोक्सानमा पुर्याउँछ।
कुखुरा मर्ने अवस्थाहरू
कुखुरा अत्यधिक भीडभाडमा राख्दा, फोहोर वातावरणमा पाल्दा, र संक्रमण भएको चरासँग सम्पर्कमा आउँदा सबैभन्दा धेरै मर्छन्। बर्ड फ्लु लागेपछि कुखुराहरू अचानक मर्छन्, खाना खान छाड्छन्, टाउको पछाडि फर्काउने, हरियो रगतसहितको दिसा गर्ने, र शरीर नीलो जस्तो देखिन्छ। यस्तो देखिएमा तुरुन्तै उपचार नगरे ठूलो नोक्सान हुन्छ।
कृषकहरूले के गर्नुपर्छ?
किसान दाजु भाई दिदी बहिनि , हामीले हाम्रो मेहनतलाई जोगाउनैपर्छ। यसको लागि पहिलो उपाय जैविक सुरक्षा (बायो-सिक्युरिटी) हो। फार्म सफा राख्नुहोस्, बाहिरबाट आउने मानिसहरूलाई स्यानिटाइज गराउनुहोस्, र नयाँ कुखुरा ल्याउँदा १५ दिन क्वारेन्टाइनमा राख्नुहोस्। बाहिरी चरा फार्ममा पस्न नदिन जाली लगाउनुहोस्।
यदि रोग देखिएमा तुरुन्तै नजिकको पशु सेवा केन्द्र वा भेटेरिनरी प्राविधिकलाई खबर गर्नुहोस्। मरेका कुखुरालाई खुला ठाउँमा नफाल्नुहोस्, सुरक्षित रूपमा गाडेर वा जलाएर नष्ट गर्नुहोस्।
कुखुरालाई स्वस्थ राख्न समयमै खोप, भिटामिन, र उचित आहार दिनुहोस्। हरेक दिन फार्ममा अनुगमन गर्नुहोस्, सानो लक्षण देखिए पनि तुरुन्तै सचेत हुनुहोस्।
सजग किसान, सुरक्षित भविष्य
हामी किसानहरू नै हाम्रो भविष्यका निर्माता हौं। यदि हामीले समयमै सतर्कता अपनायौं भने, बर्ड फ्लु जस्तो महामारीलाई टाढा राख्न सक्छौं। रोग देखिएपछि मात्रै होइन, रोग नदेखियोस् भन्नेतर्फ ध्यान दिनुपर्छ।
कुखुरा पालन हाम्रो मात्रै होइन, देशकै अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हो। किसानका समस्या बुझ्न र समाधान दिन म सधैं तपाईंहरूको साथमा छु। हाम्रा समस्या समाधानका लागि आवाज उठाउने, सचेतना फैलाउने र सहकार्य गर्ने अभियानमा म तपाईंहरूसँग हातेमालो गर्न तयार छु।
हाम्रो श्रमको सम्मान गरौं, रोगलाई होइन, समाधानलाई रोजौं।