मध्यपुर थिमि, १६ चैत्र २०८१ः
कृष्ण किसि
नेपाल औषधी व्यवसायी संघ, भक्तपुर जिल्ला शाखाको चौथौं साधारणसभा तथा बनभोज कार्यक्रम निलबाराहीस्थान, बोदे, मध्यपुर थिमिमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन संघका बागमती प्रदेश अध्यक्ष ध्रुबनारायण श्रेष्ठले गरेका थिए।
कार्यक्रममा बागमती प्रदेश अध्यक्ष श्रेष्ठ, महासचिव राजु श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष शंकर महर्जन, ललितपुर जिल्ला अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रे जिल्ला अध्यक्ष श्याम तिमिल्सना तथा रामेछाप-दोलखा क्षेत्रका सदस्य मदन भौकाजीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उक्त साधारणसभा जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा भएको थियो। कार्यक्रममा औषधी व्यवसायको वर्तमान अवस्था, भविष्यमुखी रणनीति तथा व्यवसायीहरूका समस्याहरू समाधान गर्न आवश्यक कदमबारे छलफल गरिएको थियो। साथै, सहभागी व्यवसायीहरूबीच आपसी मेलमिलाप, नेटवर्क विस्तार तथा अनुभव आदान–प्रदानको अवसर मिलेको थियो। कार्यक्रममा संयुक्त रुपमा क्यालेण्डर पनि विमोचन गरिएको थियो।
बनभोज कार्यक्रम समेत आयोजना गरिएको कारण व्यवसायीहरूबीच आपसी सद्भाव र मित्रताको वातावरण निर्माण गर्न थप योगदान पुर्याएको थियो।
नेपाल औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाले आगामी दिनहरूमा व्यवसायीहरूको हकहित संरक्षण तथा औषधी व्यवसायको सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।