काठमाडौं, २० चैत्र २०८१ः
रत्न काजि प्रजापति
नेपालमा पोल्ट्री उद्योग आत्मनिर्भरताको उदाहरणीय क्षेत्रमा पर्दछ। यस उद्योगले वार्षिक १६० अर्बभन्दा बढीको लगानी र लाखौं रोजगारी सिर्जना गर्दै आएको छ। तर, पछिल्लो समय सीमावर्ती नाकाहरूबाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तुहरू चोरी-निकासी हुँदै आएकाले व्यवसायीहरू चिन्तित भएका छन्।

नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सलाही, मलंगवा, जलेश्वर, विराटनगर, झापा लगायतका भारतीय सीमावर्ती नाकाहरूबाट चल्ला, तयारी कुखुरा, कुखुराको मासु, अण्डा, भ्याक्सिन लगायतका वस्तुहरू चोरी-निकासी भइरहेको पाइएको छ। विशेष गरी भारतीय सीमा नाकाहरुका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरुले भारतबाट अवैध रुपमा कुखुरा आयात गरी ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरुमा कुखुराको मासु निर्यात गरिरहेका छन् ।

अर्को चुनौतीका रुपमा भारतबाट प्रज्ञापनपत्र लिएका मालवाहक कन्टेनरहरुमा स्वीटकर्न, फ्रेन्च फ्राई आदि मात्र उल्लेख गरी भन्सार कार्यालयबाट जाँचपास भई नेपाल भित्रने गरेका र त्यस्ता मालवाहक कन्टेनरहरु नेपाली किसानहरुको पहलमा चेकजाँच गर्दा अवैध र गैरकानूनी रुपमा राजस्व समेत छली कुखुराको फ्रोजन मासु, माछा समेत चोरी पैठारी भईरहेको अवस्था छ ।
नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायण हरी खत्रीका अनुसार भारतीय मालवाहक कन्टेनरहरूमा स्वीटकर्न, फ्रेन्च फ्राई जस्ता सामानको नाममा भन्सार पास गराइ पोल्ट्रीजन्य वस्तुहरू अबैध रुपमा नेपाल भित्र्याउने कार्य भइरहेको छ। यसले स्वदेशी पोल्ट्री व्यवसायलाई ठूलो क्षति पुर्याइरहेको मात्र नभई मानव स्वास्थ्यमा समेत खतरा बढाइरहेको छ।

भारतका विभिन्न राज्यहरूमा बर्ड फ्लु लगायतका संक्रामक रोगहरू फैलिरहेको बेला नेपालमा अवैध रूपमा संक्रमित पन्छीजन्य वस्तुहरू आयात हुनु झनै गम्भीर समस्या भएको विज्ञहरू बताउँछन्। खुला सिमाना र कमजोर अनुगमनका कारण यस्ता खतरनाक वस्तुहरू नेपाली बजारमा सहज रूपमा प्रवेश पाउनुले मानव स्वास्थ्य संकटमा पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
यस समस्याको रोकथामका लागि सीमावर्ती भन्सार नाकाहरूमा कडाइका साथ जाँच गर्ने, क्वारेन्टाइन अनिवार्य लागू गर्ने, अवैध रूपमा पोल्ट्रीजन्य वस्तु आयात गर्नेलाई कडा कानुनी कारबाही गर्नु पर्ने माग सहित पोल्ट्री व्यवसायीहरूले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई भेट गरी ज्ञापनपत्र पेश गरेको छ।
नेपाल सरकारले पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर घोषणा गरिसकेको भए पनि अवैध चोरी-निकासीको बढ्दो घटनाले व्यवसायीहरू मर्कामा परेका छन्। यदि सरकार र सम्बन्धित निकायहरूले चाँडै कदम नचाले, पोल्ट्री उद्योग ठूलो आर्थिक संकटमा पर्न सक्ने नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले बताए।
अध्यक्ष रबिन पुरीका अनुसार यदि उचित अनुगमन र कडाइ भएन भने, स्वदेशी पोल्ट्री उद्योगमा ठुलो संकट आउनेछ, जसले देशको समग्र कृषि क्षेत्रलाई नै असर पुर्याउन सक्छ।