नुवाकोट, बिदुर नगरपालिका, २२ चैत्र २०८१ः
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला शाखाको आयोजनामा नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. ३, कुमलटारमा हुर्केका गिरिराज चल्ला, दाना तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
संघका अध्यक्ष रमेश अधिकारीका अनुसार, अपाङ्गता भएका तथा विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले वडा अध्यक्ष बद्री प्रसाद रिमालको रोहवरमा संघको कार्यसमितिले चल्ला वितरण गरेको हो। कार्यक्रममा ३१ परिवारलाई १०/१० वटाका दरले कुखुराका चल्ला वितरण गरिएको छ।
वितरण कार्यक्रममा वडा अध्यक्ष बद्री प्रसाद रिमाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरणका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको भन्दै संघको प्रयासको सराहना गरे।
संघका पदाधिकारीहरूले गिरिराज कुखुराको पालनपोषण सम्बन्धी आवश्यक तालिम तथा परामर्श पनि प्रदान गरेका थिए। उनीहरूले कुखुराको उचित हेरचाह, खोप कार्यक्रम, तथा उत्पादन वृद्धिका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराए।
कार्यक्रममा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले स्वरोजगारका अवसर सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्दै संघको यस कार्यको तारिफ तारिफ गरे।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला शाखाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरी समुदायलाई सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।
