कास्की, २४ चैत्र २०८१ः
पर्यटकीय नगरी पोखरामा आजदेखि १३ औँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ सुरु भएको छ ।
‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ स्थानीय विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महोत्सव शुभारम्भ गर्नुहुँदै महानगर किसानको पक्षमा रहेको स्पष्ट पार्नुहुँदै कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
महोत्सव यही वैशाख ३ गतेसम्म संचालन हुनेछ।