चितवन,
ईश्वर कुमार थापा
भेटेरिनरी औषधी व्यवसायीहरूलाई लक्षित गरी एन्टिबायोटिक्स, हर्मोनलगायत औषधीको सही बिक्रि वितरण तथा प्रयोगसम्बन्धी तीन दिने आचारसंहिता सचेतना तालिम सम्पन्न भएको छ।
चैत्र २२ गतेदेखि २४ गतेसम्म चितवनस्थित पशु सेवा कार्यालयमा सम्पन्न उक्त तालिममा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये छ जिल्लाका ३० जना व्यवसायीहरूको सहभागिता रहेको थियो।
बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडाको आयोजनामा सम्पन्न सो तालिम नेपाल पशुपन्छी औषधी व्यवसायी संघ, बागमती प्रदेश कार्य समितिको सहयोगमा सम्पन्न भएको हो।
तालिममा एन्टिबायोटिक्सको अनावश्यक प्रयोगले पशुमा उत्पन्न गर्न सक्ने असर, हर्मोनको प्रयोगसम्बन्धी वैज्ञानिक पक्ष, र व्यवसायीहरूले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।
नेपाल पशुपन्छी औषधी व्यवसायी संघ बागमती प्रदेश समितिका अध्यक्ष ईश्वर थापाका अनुसार बाँकी रहेका सात जिल्लाका व्यवसायीहरूका लागि वैशाख १५ गतेदेखि थप ३० जनालाई लक्षित गरी अर्को चरणको तालिम आयोजना गरिनेछ।
तालिमले औषधी व्यवसायीहरूमा उत्तरदायित्वबोध र वैज्ञानिक अभ्यासप्रति जागरूकता बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
