मध्यपुर थिमि, २७ चैत्र २०८१ः
यस वर्षको विस्काः जात्रा भव्य, सभ्य र सुरक्षित रुपमा सम्पन्न गर्नका लागि सम्बन्धित सरोकारवाला निकायबीच तयारी बैठक सम्पन्न भएको छ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा जात्राको सुसंगठित सञ्चालन, सुरक्षा व्यवस्थापन, यातायात व्यवस्थापन, भीड नियन्त्रण तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा सबै पक्षले आपसमा समन्वय गर्दै जात्रालाई सफल बनाउने प्रतिबद्धता जनाएका छन्। नगर प्रमुख श्रेष्ठले जात्रा हाम्रो सांस्कृतिक सम्पदा भएकोले यसको गौरवपूर्ण ढंगले आयोजना गर्न सबैलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी अर्यालले शान्ति सुरक्षाको पूर्ण व्यवस्था मिलाइने जानकारी गराउँदै सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ खटिने निर्देशन दिनुभएको छ।
विस्काः जात्रा स्थानीय संस्कार, संस्कृति र समुदायबीचको एकताको प्रतीक मानिन्छ। यस वर्ष पनि पूर्ववत् परम्परालाई निरन्तरता दिँदै जात्रालाई अझ भव्य बनाउने तयारीमा सम्बन्धित निकाय जुटेका छन्।


