नगरकोट, २९ चैत्र २०८१:
‘Nagarkot is more than sunrise’ भन्ने नारासहित ‘नगरकोट भ्रमण वर्ष–२०८२’ वैशाख १ गतेबाट एक वर्षसम्म मनाइने भएको छ। चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिकाको संयुक्त पहलमा आयोजना हुने यस भ्रमण वर्षको उद्घाटन कार्यक्रम वैशाख १ गते नगरकोटको बतासे डाँडास्थित सनराइज भ्यू पार्कमा गरिनेछ। उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहने छ।
यस भ्रमण वर्षलाई सफल पार्न १ हजार १ सय १ सदस्यीय संयुक्त मूल आयोजक समिति गठन गरिएको छ। चारवटै नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रशासकीय अधिकृत, नाल्दुम पर्यटन विकास समिति तथा स्थानीय संघ–संस्थाहरुको सक्रिय समावेशी सहभागिता रहनेछ।
तीन दिनसम्म चल्ने उद्घाटन कार्यक्रममा वैशाख २ गते ‘इन्द्रेणी’ सांस्कृतिक टोली र वैशाख ३ गते गायक प्रकाश सपुतसहितको समूहको प्रस्तुति रहनेछ। कार्यक्रमस्थलमा ५० भन्दा बढी स्टल, स्थानीय कृषि उत्पादन, फुड स्टल, झाँकी प्रदर्शनी र चित्रकला प्रदर्शनी राखिनेछ। १०० जना कलाकारहरुले नगरकोटका सम्पदालाई क्यानभासमा उतार्ने छन्।
सरकारबाट नगरकोटलाई पर्यटकीय क्षेत्रको रूपमा घोषणा गराउने पहल पनि भ्रमण वर्षको प्रमुख लक्ष्यमध्ये एक हो। भ्रमण वर्षभर कम्तीमा १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। होटल व्यवसायीहरुले वैशाख १, २, ३ मा १५% र पूरै भ्रमण वर्षभर १०% छुट दिने घोषणा गरेका छन्।
चारवटै पालिकाभित्रका पदमार्ग तथा सडक स्तरोन्नति, होमस्टे विस्तार, सिधा बस सेवा, कला संग्रहालय स्थापनाजस्ता प्रयासहरुबाट नगरकोट भ्रमण वर्ष २०८२ लाई थप प्रभावकारी बनाइने बताइएको छ।
भ्रमण वर्षको अन्तिम चरणमा चैत महिनामा राष्ट्रिय सहकारी दिवसलाई विशेष कार्यक्रममार्फत मनाइनेछ भने स्मारिका प्रकाशन समेत गरिनेछ ।