“औषधी चाहियो भने पहिले सल्लाह, त्यसपछि प्रयोग”ःप्रा. डा. सुबिर सिंह

पशुपालक किसानलाई एन्टिमाइक्रोबियल प्रतिरोध र वन हेल्थ प्रवर्द्धन सम्बन्धी तालिम

चितवन, २९ चैत्र २०८१ः

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), चितवन अन्तर्गतको निरन्तर शिक्षा केन्द्रको आयोजनामा ‘एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) र वन हेल्थ प्रवर्द्धन’ विषयक दुई दिने तालिम सम्पन्न भएको छ।

बुधबारदेखि सुरु भएको उक्त तालिम आज विश्वविद्यालयको सभाहलमा समापन गरिएको हो। तालिममा ५० जना पशुपालक किसानलाई पशु स्वास्थ्य, औषधिको सुरक्षित प्रयोग, सरसफाइ, रोग नियन्त्रण र वन हेल्थ अवधारणाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम संयोजक प्रा. डा. ओम प्रकाश सिंहले समय सापेक्ष तालिममार्फत विश्वविद्यालयले प्राध्यापक, कर्मचारी तथा किसानलाई जानकारीमूलक ज्ञान उपलब्ध गराउँदै आएको बताउनुभयो। यसै सिलसिलामा पशुपालक किसानहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

तालिमका प्रमुख प्रशिक्षक तथा विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. सुविर सिंहले पशुपन्क्षी पालनमा एन्टिबायोटिक लगायतका औषधीहरुको अनावश्यक प्रयोगले उत्पन्न हुने जोखिमबारे चेतना जगाउन तालिम दिइएको बताउनुभयो। चिकित्सकको सल्लाहबिना औषधी प्रयोग नगर्न आग्रह गर्दै उहाँले यो तालिमलाई जागरण अभियानको रुपमा अघि बढाइएको बताउनुभयो।

सहभागी किसानहरुले तालिमले आफूहरुलाई औषधि प्रयोगबारे सचेत बनाएको अनुभव बाँडेका छन्। “पहिला हल्का रुपमा लिने गरेका कुराहरु पनि गम्भीर रहेछन् भन्ने कुरा थाहा भयो,” एक सहभागी किसानले भने, “अबदेखि चिकित्सकको सल्लाहबिना औषधी प्रयोग नगर्ने र अरू किसानलाई पनि त्यही सुझाव दिनेछौं।”

एशियन डेभलपमेन्ट बैंक (एडिबी), जेनेक्स फाउण्डेशन र सथगुरुको सहयोगमा आयोजित तालिमको उद्घाटन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!