भक्तपुर, १८ बैशाख २०८२ः
सूर्यविनायक नगरपालिकाले भक्तपुर ट्राफिक प्रहरी परिसरमा निर्माण गरेको ट्राफिक सचेतना कक्षको उद्घाटन नगरप्रमुख वासुदेव थापाले गर्नुभएको छ। नगरपालिकाको आठ लाख रुपैयाँ लागतमा बनेको एक कोठे भवनले २२ महिनासम्म टेण्टमा सञ्चालन हुँदै आएको कक्षलाई अब सहज बनाउनेछ।

मादक पदार्थ सेवन गरी सबारी चलाउने, लेन अनुशासन उल्लंघन गर्ने, तीव्र गतिमा सबारी चलाउने, रातोबत्ती पार गर्ने चालकहरूलाई जरिवाना सहित दिइने एक घण्टे कक्षा अब नयाँ भवनमा सञ्चालन हुनेछ।
प्रहरी निरीक्षक प्रदीप खत्रीका अनुसार हाल दैनिक १००–१५० चालकले कक्षा लिँदै आएका छन्। चालू वर्षको साउनदेखि चैतसम्म १६,३१३ जनाले कक्षा लिएका छन्।
नगरप्रमुख थापाले भनसुनको आधारमा कारबाही रोक्ने प्रवृत्तिले दुर्घटना बढाउने भन्दै नियम कार्यान्वयनमा कठोर हुन आग्रह गर्नुभयो।
PC: ramresh giri, rss