सदस्यमैत्री सेवा र आर्थिक पारदर्शिताको उच्च मूल्याङ्कन
मध्यपुर थिमि, २१ वैशाख २०८२ः
बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमिलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आर्थिक वर्ष २०८०/०८१ को लागि उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८१ प्रदान गरेको छ।
शनिबार सम्पन्न संघको २१औं स्थापना दिवस समारोहका अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रकाश ढकालले संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए।

२०५७ साल असोज २ गते स्थापना भएको यस संस्थाले यसअघि पनि भक्तपुर जिल्लाको उत्कृष्ट सहकारी पुरस्कार (डिभिजन सहकारी कार्यालय, भक्तपुर) तथा उपत्यकाको उत्कृष्ट सहकारी पुरस्कार (राष्ट्रिय सहकारी बैंक लि.) प्राप्त गरिसकेको छ। आर्थिक जीवनस्तर उकास्ने कार्य र सामाजिक उत्तरदायित्वमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विभिन्न संघसंस्थाबाट यसलाई सम्मानित गरिएको छ।
स्थापना कालमा ७ लाख रुपैयाँ शेयर पूँजीसहित २८ जना स्थानीयको पहलमा सुरु भएको यो सदस्यमैत्री सहकारी संस्था हालसम्म ५९१५ जना शेयर सदस्यसम्म पुगिसकेको छ। २०८२ वैशाख १९ गतेसम्मको तथ्याङ्कअनुसार, संस्थाको कुल कारोबार २ अर्ब १७ करोड ९३ लाख १४ हजार ४८९ रुपैयाँ पुगेको छ।
संस्थाले समयअनुसार ब्याजदर समायोजन गर्दै, सदस्यहरूलाई विभिन्न आकर्षक ऋण सुविधाहरू प्रदान गरिरहेको छ। हाल ‘सदस्य समृद्धि कर्जा’ ८% ब्याजदर, ‘सुविधा ऋण’ ८.५% ब्याजदर (शर्त लागू हुने), र ‘बालकुमारी सुनौलो कर्जा’ ९.५% ब्याजदरमा उपलब्ध गराइरहेको छ।