भक्तपुरमा दीप श्रेष्ठको सुरिलो साँझ : कालजयी गीतमा झुमे श्रोता

भक्तपुर, २१ बैशाख २०८२:

नेपाली आधुनिक संगीतका जीवित इतिहास, गायक दीप श्रेष्ठले भक्तपुरको मञ्चमा पहिलोपटक आफ्ना कालजयी गीतहरू प्रस्तुत गर्दा दर्शक–श्रोता मन्त्रमुग्ध बने। ‘दीप श्रेष्ठ सांगीतिक साँझ २०८२‘ नाम दिइएको उक्त कार्यक्रम भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ऐतिहासिक शहर भक्तपुरमा सम्पन्न भएको हो।

साँझको समयमा सुरु भएको कार्यक्रममा दीप श्रेष्ठले करिब २२ वटा आफ्ना लोकप्रिय र भावपूर्ण गीतहरू गाए। “म त दुर देखि आएँ, हर रात सपनीमा, बितेका कुराले जस्ताकालजयी गीतहरूमा दर्शकहरू भावुक बने, कतिपयले आँखा रसाएको अनुभव पनि सुनाए। दीप श्रेष्ठको स्थिर स्वर, सरल प्रस्तुतिमा रहेको आत्मीयता र गीतहरूको मिठासले सम्पूर्ण वातावरण नै सुरिलो बन्यो।

कार्यक्रम स्थलमा श्रेष्ठका समकालीन मित्रहरु देखि युवा पुस्तासम्मको उत्साहजनक उपस्थिति रहेको थियो। दर्शकहरूले कार्यक्रमको प्रशंसा गर्दै यस्ता सांगीतिक साँझले भक्तपुरको सांस्कृतिक र पर्यटन विकासमा टेवा पुर्‍याउने बताएका छन्।

भक्तपुर सांगीतिक समाजका अध्यक्षले भने, “दीप श्रेष्ठजस्ता सांगीतिक हस्तीलाई भक्तपुर ल्याएर यहाँका संगीतप्रेमीहरूलाई नजिकबाट अनुभूति गराउने हाम्रो प्रयास सफल भएकोमा हामी गर्वित छौं।” भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कबिदास श्रेष्ठले पनि आगामी दिनमा अझ व्यापक र विविध सांस्कृतिक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।

यो कार्यक्रमले भक्तपुरमा संगीतप्रतिको अभिरुचि मात्र होइन, सांस्कृतिक धरोहरलाई समेट्दै आधुनिकतालाई आत्मसात गर्ने प्रयास पनि उजागर गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!