अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरको भाजुपोखरीको स्थलगत निरीक्षण

२०७९ फागुन १८, भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले लामो समयदेखि संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको भाजुपोखरीलाई पुनः जीवन दिन भक्तपुर नपाले गरेको कार्य सराहनीय छ भन्नु भयो। ।
अध्यक्ष बिजुक्छेँले २०२०/२१ सालदेखि नै भाजुपोखरी पुनःनिर्माणको चरणबद्ध रुपमा उत्खनन् कार्य सुरु भएको बताउँदै उक्त पोखरी पनि विश्व सम्पदाकै अभिन्न अंग भएको हुँदा सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदाहरू समय धेरै लागे पनि मौलिक शैलीमै सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्नुपर्नेमा जोड दिनुभयो । मानव सभ्यताको विकास र महत्वबारे बुझ्न यस्ता प्राचीन सम्पदाहरूको संरक्षणमा सम्बन्धित निकायले संवेदनशी भएर जगेर्ना गर्नु आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, हाम्रो देशको इतिहास अरुले नभई हामी आफूले लेखेको हुनुपर्छ । इतिहास र भूगोलविनाको शिक्षा अपूर्ण र अधुरो हुने बताउँदै उहाँले विद्यालय र कलेजहरूमा देश विदेशका इतिहास र भूगोलबारे अनिवार्य रुपमा पठन पाठन गराउनुपर्ने बताउनुभयो । उहा“ले भन्नुभयो, ‘सबै कुराको लिपिबद्ध गर्दै लग्यो भने मानव सभ्यताको विकास बुझ्न सहज हुन्छ ।’
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पोखरी पुनःनिर्माणको लागि विज्ञसहितको समिति गठन गरी समितिबाट प्रस्तुत प्रारम्भिक प्रतिवेदनकै आधारमा पुनःनिर्माणको कार्य थालनी भएको बताउनुभयो । उहाँले भाजु पोखरीको दक्षिणतर्फको बाटो खुल्ला गर्ने विषयमा भक्तपुर क्याम्पस र त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी छलफल गरिरहेको बताउँदै भाजु पोखरी पुनःनिर्माण सँगै यो ठाउँ देशकै सुन्दर ठाउँको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न भएसँगै पोखरी पुनःनिर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको र पोखरीमा पानी भर्ने कार्यसँगै छिटै सर्वसाधारणको लागि पोखरी खुल्ला हुने बताउँदै उहाँले पोखरी पुनःनिर्माण र जीर्णोद्धारमा सहयोगी भूमिका खेलेका सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठले भाजु पोखरीको इतिहासमाथि विश्लेषण गर्दै भाजु पोखरी भक्तपुरको मात्र नभई नेपालकै प्राचिन सम्पदाको रुपमा रहेको र यसको पुनःनिर्माण उत्खनन्को समयमा प्राप्त प्रमाणकै आधारमा भएको हो भन्नुभयो ।
भाजु पोखरी काठमाडौंको रानी पोखरीबाट प्रभावित भएर भाजु कसले बनाएको किंबदन्ती भए पनि भाज्या पखेरी काठमाडौंको रानी पोखरीभन्दा करिब ५०० वर्ष पुरानो देखिन आएको बताउँदै उहाँले भाजु पोखरी पुनःनिर्माणसँगै भक्तपुरको गौरवलाई अझ बढाउने बताउनुभयो । निरीक्षणमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, भनपा वडा न. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठ, पुरातत्व विभाग भक्तपुरका अरुणा नकर्मी, भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ, पत्रकार र उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
तत् पश्चात अध्यक्ष बिजुक्छेँले पोखरीको पश्चिमतर्फ रहेको भक्तपुर नपाद्वारा सञ्चालित शिशुस्याहार केन्द्र, सिद्धपोखरी र भक्तपुरको रानीपोखरीको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!