एक महिना भित्र काम सकाउन निर्देशन, ठेक्का सम्झौता खारेज गर्ने सम्मको चेतावनी
भक्तपुर, फागुन १८, २०७९ः
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुर–नगरकोट सडकको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै अबको एक महिना भित्र निर्माण सकाउन निर्देशन दिनु भएको छ। स्थलगत अनुगमनको क्रममा मन्त्री श्रेष्ठले अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गर्ने सम्मको चेतावनी समेत दिनुभयो ।
उहाँले अनुगमनपछि सडक विस्तारको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको बताउँदैं अवस्था यस्तै रहे सरकार चुप लागेर नबस्ने प्रतिक्रिया दिनुभयो । सडक निर्माणको अवस्था सन्तोषजनक छैन । दुई वर्षमा सकिनुपर्ने सडक ७ पटक म्याद थप भइसकेको छ । अबको एक महिनामा निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे सरकार चुप लागेर बस्न सक्दैन, उहाँले भन्नुभयो ।
भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधिन सडकको ठेक्का भारतीय कम्पनी आराभाली इन्फ्रा पावर लिमिडेट र नेपाली साझेदार शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएको हो । यो सडकको सम्झौता सन् २०१४ मा भएको हो । यो सन् २०१६ भित्रमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर पटक पटक गरी सात पटक म्याद थप गरिसक्दा पनि अझै यो सडकको निर्माण कार्य सम्पन्न भएको छैन । सडक घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गर्नाले स्थानीयले विगत ९ वर्षदेखी कष्टपूर्ण यात्रा गरिरहनु परेको छ । यो सडकको दुरावस्थाकै कारण नगरकोटको पर्यटन उद्योग समेत प्रभावित पारेको छ ।
सडक अनुगमनका लागि पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई स्थानीय बासिन्दाले प्रत्यक्ष गुनासो समेत ्पोखेका थिए । स्थानीयले निर्माण कम्पनीलाई कालोसुचीमा राख्नुपर्ने माग समेत गरेका थिए । उनीहरुले ठेकेदारलाई कालोमोसो दल्ने चेतावनी समेत दिए ।
उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयलाई सडक एक महिनाभित्र निर्माण सम्पन्न नभए नियम बमोजिम कारवाहीको प्रक्रियामा जाने आश्वासन दिनुभयो । “यो सडक निर्माण सात पटक म्याद थप भइसकेको छ, बीचमा क्रसर उद्योगको समस्या आएकाले गत जनवरीमा एक महिना थप समय दिएका हौँ । अब कुनै पनि बाहनामा समय थप हुदैन ।” उहाँले तत्कालै निर्माण कम्पनीसँग छलफल गरी समीक्षा गर्ने र थप निर्णय लिने बताउनुभयो ।
अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोली सहभागी थिए ।
उक्त अनुगमनमा नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज दिलिप प्रजापति, ्केन्द्रिय सदस्य प्रतिमा श्रेष्ठ, जिल्ला संयोजक सुनिल गोथे, वाई्सियल नेपाल भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जित लागायत माओबादी कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
मन्त्री अनुगमनमा आउने भएपछि निर्माण कम्पनीले रातारात सडकमा पानी हालेर धूलो नउड्ने बनाएको थियो ।

PC: Naresh Ranjit