पशु आहारा उत्पादनका लागि उद्योग स्थापना गर्दै देवचुली नगरपालिका

नवलपरासी, फागुन २०, २०७९ः

नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ। पालिकाले पशुको आहाराका लागि साइलेज उद्योग स्थापना गर्न लागेको हो।

नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरी सहुलियत दरमा किसानलाई प्रदान गर्ने उद्देश्यका साथ साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग स्थापना गर्न लागेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनु भयो।

नगरपालिकाले आज एक कार्यक्रमकाबीच साइलेज उद्योगको शिलान्यास गरेको छ। नगरपालिकाभित्र पशुपालन गर्ने किसान धेरै रहेको र दाना तथा आहारामा लागत अत्यधिक खर्च हुँदा किसानले अपेक्षा अनुसारको मुनाफा गर्न नसकेका कारण उत्पादनमा हुने लागत घटाउन यो योजना अघि सारिएको नगर प्रमुख न्यौपानेले बताए।

“अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत बढेको छ, किसानहरूले उचित नाफा लिन सकेका छैनन्, उत्पादन लागत घटाउँदै, किसानको मुनाफा बढाउन उद्योग स्थापना गर्न लागेका हौँ”, नगर प्रमुख न्यौपानेले भने, “उद्योग स्थापनापछि पशुपालक किसानलाई सहयोग पुग्ने छ।”

उत्पादन लागत बढ्नु, बजारिकरणमा समस्या हुनु लगायत विविध समस्याका कारण कृषि तथा पशुपालनमा लाग्ने किसान पलायन हुने क्रम बढेकाले यो पेसालाई कसरी जोगाउने भन्ने विषय चुनौती बनेपछि पालिकाले उद्योग स्थापना गर्न लागेको हो।

उद्योग स्थापनाका लागि पालिकाले योजना बनाएको भए पनि यसको दिगो सञ्चालनका लागि सबै किसानको सहकार्य आवश्यक रहेको उनको भनाइ छ। “किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गर्नुभएको छ, अब हामी स्थानीयस्तरमै उत्पादन गर्छौँ, यसले यहाँका किसानलाई लाभ मिल्ने छ” नगर प्रमुख न्यौपानेले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!