सिन्धुली, २ जेठ २०८२ः
प्रदेश दुग्ध विकास बोर्ड, बागमती प्रदेशको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत “दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम” सिन्धुलीमा सम्पन्न भएको छ।
सिन्धुलीको पशु सेवा कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्ड, बागमती प्रदेशका उपाध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशका सचिव बैकुण्ठ अधिकारी हुनुहुन्थ्यो।

कार्यक्रममा मकवानपुर, सिन्धुली, दोलखा र रामेछाप जिल्लाबाट दुग्ध व्यवसायमा संलग्न किसान, सहकारी संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रमको क्रममा दुग्ध क्षेत्रका हालका समस्याहरू, किसानहरूका चुनौतीहरू, उत्पादन वृद्धि, बजार व्यवस्थापन, अनुदान र नीति सुधारका विषयमा गम्भीर छलफल गरिएको थियो। सहभागीहरूले दुग्ध क्षेत्रमा अझ प्रभावकारी नीतिगत सुधार र प्रदेश सरकारबाट थप सहजीकरणको अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रमले दुग्ध क्षेत्रको दिगो विकासका लागि सम्बन्धित पक्षहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।