काठमाडौँ , ४ जेठ २०८२ः
नेपाल भेटेरिनरी एशोसिएसन केन्द्रिय कार्यसमितिको साधारणसभा तथा अधिवेशन यहि जेठ १७ गते काठमाडौँमा हुने भएको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ, जसका लागि अध्यक्ष पदमा हालसम्म तीन जनाले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्ष पदका लागि उम्मेदवारी दिनेमा डा. उमेश दाहाल, डा. केदार राज पाण्डे र डा. केदार सुबेदी छन्।
डा. उमेश दाहाल एशोसिएसनका पूर्व महासचिव तथा सदस्य हुन्। उनी पशु सेवा विभागका पूर्व महानिर्देशक समेत रहिसकेका छन्। हाल उनी मधेश प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिवको जिम्मेवारीमा कार्यरत छन्।
त्यस्तै, डा. केदारराज पाण्डे एशोसिएसनका गण्डकी प्रदेश समितिका पूर्व अध्यक्ष हुन्। उनी सरकारी सेवाबाट निवृत्त भेटेरिनरी चिकित्सक हुन् र लामो समयसम्म सरकारी सेवामा कार्यरत रहँदै पशु स्वास्थ्य क्षेत्रमा योगदान दिएका ब्यक्तित्व हुन।
हाल एशोसिएसनका महासचिवको जिम्मेवारी सम्हालिरहेका डा. केदार सुबेदी पनि अध्यक्ष पदको दौडमा छन्। उनले वर्तमान कार्यसमितिमा सक्रिय भूमिका निभाउँदै आएका छन्।
यस अधिवेशनमार्फत एशोसिएसनको नयाँ नेतृत्व चयन हुँदैछ, जसले भेटेरिनरी पेशाको संरक्षण, सम्वर्द्धन तथा नीतिगत सुधारतर्फ प्रभावकारी पहल गर्ने अपेक्षा गरिएको छ।