‘गाली होइन, काम गर्ने प्रवृत्ति बढ्नुपर्छ’: राधिका शाक्य

काठमाडौँ, ५ जेठ २०८२ः

प्रथम महिला राधिका शाक्यले आफूले राजनीति राम्रोसँग बुझेको भए पनि सक्रिय राजनीतिमा नआउने स्पष्ट रूपमा बताउनुभएको छ।

प्रेस चौतारी नेपालले आज राजधानीमा आयोजना गरेको ‘करुणा’ पुस्तक विमोचन तथा संवाद कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी शाक्यले विद्यार्थीकालदेखि नै केही हदसम्म राजनीतिक गतिविधिमा संलग्न भए पनि अब सक्रिय राजनीतिमा नजाने धारणा व्यक्त गर्नुभयो।

“देशप्रेमले भरिएको एक सामान्य नागरिकको रूपमा बाँच्न चाहन्छु। मातृभूमिप्रति कदापि गद्दारी गर्दिन,” उहाँले भन्नुभयो, “अब यो उमेरमा राजनीतिमा सक्रिय हुन जाने पक्षमा म छैन।”

शाक्यले नेपालको राजनीतिमा सकारात्मक सोचभन्दा नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै सरकारलाई काम गर्न नदिने प्रवृत्तिबाट चिन्ता व्यक्त गर्नुभयो। “गाली गलौजमा रमाउने प्रवृत्तिले देशलाई नोक्सान गर्छ,” उहाँको भनाइ थियो।

प्रधानमन्त्रीसँगको सम्बन्धकै कारण आफन्तहरूले लाभ लिएको हुनसक्ने शङ्कासम्बन्धी प्रश्नमा उहाँले भनिन, “यदि मेरो माइती पक्षका कसैले राजनीतिक लाभ लिएको प्रमाण छ भने सार्वजनिक गर्नुहोस्। म आफैँ पारदर्शिताको पक्षमा छु।”

उहाँले श्रीमान् ओलीकै प्रेरणाले आफू दुई विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्न सफल भएको बताउनुभयो। साहित्यमा रुचि राख्ने शाक्यले ‘मेरो अनुभूति’ प्रकाशित भइसकेको र तेस्रो पुस्तक ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो।

कार्यक्रममा ‘करुणा’ पुस्तकबारे डा. देवी नेपाल र वरिष्ठ पत्रकार बबिता बस्नेतले समीक्षा प्रस्तुत गर्दै राधिका शाक्यको संवेदना र प्रधानमन्त्री ओलीको जीवनदर्शन बुझ्न पुस्तक उपयोगी हुने धारणा राख्नुभयो।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले शाक्यलाई सङ्घर्ष, समर्पण र सहनशीलताको प्रतीकको रूपमा व्याख्या गर्दै उहाँबाट नेपाली समाजले धेरै सिक्न सक्ने बताउनुभयो। महासचिव हीरामान लामाले यो कृति प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा राजधानीका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!