भक्तपुर, ५ जेठ २०८२ः
रामचन्द्र प्रजापति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर नगर कमिटीको आयोजनामा ३२औं मदन–आश्रित स्मृति दिवसको अवसरमा भक्तपुर नगरपालिका–९ स्थित ब्रम्हयणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नं. १ का इन्चार्ज सोमप्रसाद मिश्रले कम्युनिष्ट आन्दोलन समाप्त भइसकेको भनी कतिपय लेखकहरूले उल्लेख गरेपनि त्यो भ्रमपूर्ण रहेको बताए। “कम्युनिष्ट आन्दोलन समाप्त भएको होइन, मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद आज पनि सान्दर्भिक र शक्तिशाली छ,” मिश्रले भने।
उनले मदन भण्डारीको विचार र योगदानलाई जनसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै पार्टी नीतिमा अडिग भई जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए। “रचनात्मक कार्यमार्फत जनसम्बन्ध बलियो बनाउन यस्ता सरसफाइ कार्यक्रम महत्वपूर्ण छन्,” उनले थपे।
कार्यक्रममा भक्तपुर नगर कमिटी अध्यक्ष मदन द्योलाको अध्यक्षता रहेको थियो। कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य तथा भक्तपुर नगर इन्चार्ज मिलन सुवाल, जिल्ला कमिटी सचिव विष्णु तामाङ, निर्वाचन क्षेत्र नं. १ संयोजक शिवराम तिमिल्सिना, उपसचिव अनन्त वैद्य लगायत विभिन्न वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो। पार्टी उपाध्यक्ष रामचन्द्र प्रजापतिले कार्यक्रमको जानकारी गराएका हुन्।